प्रिमियर लिगमा सिटीको कठिन जित


काठमाडौं ।

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा सिटीले न्युक्यासललाई ३–२ गोल अन्तगरले पराजित गरेको हो। सिटीको सिजतमा बर्नान्डो सिल्भा, केभीन डी ब्रुएन र ओस्कार बोबले १–१ गोल गर्दा न्यूक्यासलका लागि एलेक्जेन्डर इसक र एन्थोनी गोर्डनले १–१ गोल फर्काएका थिए।

न्यूक्यासलको मैदानमा सिटीले २६ औं मिनेटमा केइल वाल्करको पासमा सिल्भाले गोल गर्दै अग्रता दिलाएका थिए। ३५ औं मिनेटमा ब्रुनो गुमिरेजको पासमा इसकले गोल गर्दै न्यूक्यासललाई बराबरीमा लिए। ३७ औं मिनेटमा डान ब्रुनको पासमा गोर्डनले गोल गरेपछि पहिलो हाफमा न्यूक्यासलले २–१ को अग्रता बनायो।

सिटीले बराबरी गोल गर्न ७४ औं मिनेट कुर्नु परेको थियो। रोड्रीको पासमा ब्रुएनले गोल गर्दै बराबरी गरेका थिए। दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा सिटीको ब्रुएनको पासमा बोबले गोल गरेपछि अन्ततः सिटी ३–२ को जित निकाल्दै तालिकामा स्पष्ट ३ अंक लिन सफल भयो।

जितसँगै सिटी २० खेलबाट ४३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ। पराजित भएको न्यूक्यासल युनाइटेड २१ खेलबाट २९ अंकका साथ तालिकाको १० औं स्थानमा छ। प्रियिमर लिगमा लिभरपुल २० खेलबाट ४५ अंकका साथ शीर्ष स्थानमा छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?