राष्ट्रिय सभा निर्वाचन गठबन्धन जिताउन शीर्ष नेताले साझा अपिल गर्ने
पुस २८, काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन गठबन्धन दलका शीर्ष नेताहरूले साझा अपिल गर्ने भएका छन्।
आगामी माघ ११ गते राष्ट्रिय सभाका १९ सिटका लागि सातै प्रदेशमा निर्वाचन हुँदैछ। यो निर्वाचनमा प्रदेशसभाका सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख मतदाता हुन्छन्। सबै मतदाता राजनीतिक दलकातर्फ बाटै निर्वाचित भएका हुने भएपनि गोप्य मतदान हुने भएकाले गठबन्धनले निर्वाचन परिचालनलाई विशेष महत्व दिएको छ।
त्यहीकारण गठबन्धनका उम्मेदवारलाई निर्वार्चित गराउन शीर्ष नेताहरूले नै सार्वजनिक आह्वान गर्ने तयारी छ। शनिबार बसेको गठबन्धनका नेता रमेश लेखक संयोजकत्वकोे निर्वाचन समन्वय समितिले शीर्ष नेताहरूलाई सार्वजनिक अपिल गर्न आग्रह गर्ने निर्णय गरेको थियो।
आइतबार गठबन्धनको बैठक बस्दैछ। समितिका एक सदस्यले भने, ‘यो बैठकपछि नेताहरूले सार्वजनिक अपिल गर्नुहुन्छ ।’ गठबन्धनले प्रदेश र जिल्लास्तरमा समेत राष्ट्रिय सभा निर्वाचन समन्वय समिति गठन गरेको छ भने शीर्ष नेताहरू समेत निर्वाचनका लागि प्रदेशमा खटिने तयारी छ।
यसपटक निर्वाचन हुन लागेका १९ सिटमध्ये गठबन्धनबाट कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले २ र जसपाले १ सिटमा उम्मेदवारी दिएका छन्।