मुगुमा १४ वर्षीया बालिकामाथि सामुहिक बलात्कार, नगर प्रहरीसहित ५ जना पक्राउ
माघ १, मुगु । मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामुहिक बलात्कार भएको खुलेको छ। बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ परेका छन् भने अन्य चार जना फरार छन्।
छायाँनाथ रारा नगरपालिका–१४ घर भई हाल गमगढी बजारमा बस्दै आएकी बालिकामाथि नगर प्रहरीका एक जवानसहित ९ जनाले सामुहिक बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले छायाँनाथ रारा नगरपालिका–५, कार्कीवाडाका ३० वर्षीय नगरप्रहरी बसन्तबहादुर कार्की, कृषि विकास कार्यालय गमगढीमा कार्यरत कार्यालय सहयोगी सोरु गाउँपालिका–८ का २२ वर्षीय बसन्त रोकाया लगायत १४ वर्ष मुनिका ३ जना नाबालकहरूलाई पक्राउ गरेको छ।
बलात्कारमा संलग्न भएको आरोप लागेका कृषि विकास कार्यालयका सवारी चालक पदमबहादुर कठायत र अन्य ३ जना नाबालकहरू भने फरार रहेका छन्।
बालिकाले दिएको जाहेरीका आधारमा उनीहरूले भदौ र असोजमा गरी पटक–पटक बालिकामाथि सामुहिक बलात्कार गरेको खुलेको मुगुका प्रहरी नायव उपरीक्षक (डिएसपि) बिरेन्द्र बहादुर थापाले जानकारी दिए।
बलात्कारपछि बालिकाको पेटमा गर्भ छ। बालिकाले दिएको जोहरीअनुसार १० असोजमा नगर प्रहरी बसन्तबहादुर कार्कीले डेरामा आएर एकछिन काम छ भन्दै बाहिर बोलाएका थिए। डेराबाहिर आएकी बालिकालाई उनले हातमा समाएर कृषि विकास कार्यालयको भवन पु¥याएका थिए।
त्यसपछि अनेक लालचमा पारेर नगर प्रहरी कार्की, बसन्त रोकाया र पदमबहादुर कठायतले आफूलाई करणी गरेको बालिकाको आरोप छ। प्रहरीले पक्राउ परेकाहरूविरुद्ध मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ।