प्रधानमन्त्री कपमा कर्णालीको दोस्रो जित, लुम्बिनी ६० रनले पराजित
माघ ३, भैरहवा । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले दोस्रो जित निकालेको छ। बुधबार भैरहवामा रहको सिद्धार्थ क्रिकेट रंगशालामा लुम्बिनी प्रदेशलाई ६० रनले पराजित गर्दै कर्णालीले दोस्रामे जित निकालेको हो।
पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाएर १८४ रन बनाएको थियो। बाक्लो हुस्सु कारण खेल ५ ओभर घटाइएको थियो ।१८५ रनको लक्ष्यसहित मैदान उत्रिएको लुम्बिनी प्रदेश १२४ रन मात्र बनाउन सक्यो।
टस हारेर पहिला ब्याटिङ गरेको कर्णाली प्रदेशका लागि दिनेश अधिकारीले अर्धशतकीय ५६ रनको पारि खेल्दा दीपेन्द्र रावत ४७ रनमा पभेलियन फर्किएका थिए। यस्तै, हिमांशु शाहीले २५ रन बनाउँदा कप्तान रविन्द्र शाहीले ११ रुन बनाए। चार खेलाडीले खाता खोल्न समेत सकेनन्।
लुम्बिनीका लागि निर्मला गुरुङ र अभिषेक गौतमले तीन–तीन विकेट लिँदा अजय चौहान, मोहमद हुसेन र कृष्ण कार्कीले एक–एक विकेट लिएका थिए। १८५ रनको लक्ष्यसहित मैदान उत्रिएको लुम्बिनी प्रदेशले ४१.२ ओभरमा सवै विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो।
लुम्बिनीका कृष्ण कार्कीले ४७ रन बनाउँदा मृनल गुरुङले २२ रन बनाए। यस्तै मोहमद हुसेन र निर्मल गुरुङले १०–१० रनको योगदान गरेका थिए।
कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिँदा अनुज चनारा र दीपेन्द्र रावतले दुई दुई विकेट लिएका थिए। दिवान पुनले १ विकेट लिँदा २ खेलाडी रनआउट भए। जितसँगै कर्णालीले ३ खेलबाट ४ अंक बनाउँदै पाँचौं स्थानमा रहँदा समान खेलबाट २ अंकका साथ लुम्बिनी पुछारबाट तेस्रो स्थानमा छ।