२० वर्षअघि भएको दुई जनाको हत्याका दोषीमध्ये एकजना पक्राउ
माघ १२, विराटनगर । दुई दशकअघि संखुवासभामा भएको दुईजना पुरुषको हत्यामा संलग्नमध्ये एक महिला पक्राउ परेकी छन्। संखुवासभाको चैनपुर नगरपालिकाकी ३५ वर्षीया कैली तामाङ पक्राउ परेकी हुन्। कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएकी उनी फरार थिइन्।
उनलाई मोरङको केराबारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार तामाङलाई बुधबार पक्राउ गरी संखुवासभास्थित इलाका प्रहरी कार्यालय चैनपुरको जिम्मा लगाइएको थियो ।
घटनामा संलग्न तामाङलाई जिल्ला अदालत चैनपुरले दोषी ठहर गरिसकेको छ। अदालतले २०६६ फागुन १२ गते मुद्दाको किनारा लगाउँदै उनलाई २० वर्ष कैद सजाय हुने फैसला गरेको थियो।
संखुवासभाको साविकको सिद्धकाली–२ का मंगल लिम्बू र योगेन्द्र दाहालको २०६० फागुन १० गते हत्या भएको थियो। खानेपानीको पाइप हराएको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा ८ जना मिलेर उनीहरुको हत्या गरेको खुलेको थियो।
घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।