टस जितेर क्यानडाविरुद्ध ब्याटिङ गर्दै नेपाल
माघ २५, काठमाडौं । अन्तर्राष्ट्रिय त्रिदिवसीय श्रृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा नेपाली राष्ट्रिय क्रिकेट टोलका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ रोजेका हुन्। यससँगै क्यानडाले पहिला फिल्डिङ गर्ने भएको छ।
दुवै टिम खेलमा विजयी हुँदै सिरिजमा विजयी सुरुवात गर्ने उदेश्यका साथ मैदानमा उत्रिएका छन्। यो श्रृंखलाका नेपालकातर्फबाट रोहित पौडेल र क्यानडाकातर्फबाट साद बिन जाफरको कप्तानीमा दुई टोलीमा मैदानमा छन् । नेपाल घरेलु मैदान, कन्डिसन र समर्थकको भरपुर फाइदा उठाउने दाउमा छ।
क्यानडाको मुख्य प्रशिक्षकमा पुबुदु दसानायिके छन्। नेपालका पूर्व सफल प्रशिक्षक दसानायिकेलाई नेपालको कन्डिसन, खेलाडीको कमजोरी र बलियो पक्ष दुवै थाहा छ। नेपालले क्यानडा सिरिजमा युवा खेलाडीलाई मौका दिएको छ। करण केसी र गुलशन झा यस सिरिजमा छैनन्। आकाश चन्द, हेमन्त धामी र रिजन ढकाल पहिलो पटक नेपालको टोलीमा परेका हुन्।
उता क्यानडाका प्रमुख तीव्र गतिका बलर कलिम साना चोटका कारण खेल्ने वा नखेल्ने द्धिविधामा छन्। कप्तान साद बिन जाफर पाकिस्तानी मुलका बायाँ हाते स्पिनर हुन्। बाँया हाते स्पिनरविरुद्ध नेपाली ब्याटरको इतिहास त्यति राम्रो छैन। ३२ वर्षीय ओपनर ब्याटर आरोन जोनसन आक्रामक ब्याटर हुन्। उनले क्यानडाबाट राम्रो प्रदर्शन गर्दै आएका छन्।
सन् २०१८ मा उनले डिभिजन टुमा नेपालविरुद्ध शतक हानेका थिए। त्यस्तै, भारतीय मुलका ब्याटर परगत सिंहले यसै साता हङकङविरुद्ध १२६ रनको शतकीय इनिङ खेलेका थिए।
सिरिज अन्तर्गतको अर्को खेल शनिबार र अन्तिम खेल सोमबार हुनेछ। २०१८ मा करण केसी हिरो बन्दै क्यानडामाथि एक विकेटको रोमान्चक जितका साथ ओडीआई मान्यताको सम्भावना खुलाएका थिए। त्यसपछि नेपालले क्रिकेटमा फड्को मार्दा क्यानडाले संघर्ष गर्दै आएको छ।