एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : दीपक र राजपुरा भए वर्षका उत्कृष्ट खेलाडी


माघ २८, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको २०औं संस्करणको ‘पल्सर स्पोर्ट्स अवार्ड २०७९’ अन्तर्गत थलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई वर्ष खेलाडी घोषित भएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आइतबार आयोजना गरेको कार्यक्रममा दीपक पुरुषमा र राजपुरा महिलामा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन्।

यस संस्करणदेखि सुरु गरिएको शीर्ष तीनबाट हुने छनोटमा दुवै उत्कृष्ट दरिएका हुन्। काठमाडौंमा सम्पन्न अवार्डमा दीपकले क्रिकेटका रोहितकुमार पौडेल र आसिफ शेखलाई पछाडि पारे।

महिलामा राजपुराले एथलेटिक्सकै पुष्पा भण्डारी र बास्केटबलकी अनुसा मल्ललाई पछि पारिन्। दीपक १६औं एसियाली क्रसकन्ट्री दौडमा दुई स्वर्ण विजेता हुन् । राजपुराले पनि सोही च्याम्पियनसिपमा दुई रजत पदक जितेकी थिइन्।

दीपकलाई गोल्छा ग्रुपका निर्देशक अभिमन्यू गोल्छा र राजपुरालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले राजपुरालाई अवार्ड हस्तान्तरण गरे। दुवैले पुरस्कारमा बजाज पल्सर एन २५० मोटरसाइकल प्राप्त गरेका छन्।

त्यस्तै, टेबल टेनिसकी खेलाडी सिक्का सुवाल श्रेष्ठले ‘पिपुल्स च्वाइस अवार्ड’ जितिन्। ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा सिक्का विजेता भएकी हुन्।

सिक्काले सर्वाधिक ४४।८ प्रतिसत मत प्राप्त गरिन्। यस अवार्डको मनोनयनमा करातेका विप्लवलाल श्रेष्ठ, फुटबलका अनन्त तामाङ, भलिबलकी निरुता ठगुन्ना र शारीरिक सुगठनकी रजनी श्रेष्ठ थिए।

सिक्काले बजार पल्सर मोटरसाइकल प्राप्त गरिन्। उनलाई ईसेवाका चीफ बिजनेस अफिसर आशिष गौतम र केल्मी नेपालका प्रतिनिधि दीपक विष्टले अवार्ड हस्तान्तरण गरे।

वर्ष उत्कृष्ट प्रशिक्षक पनि एथ्लेटिक्सकै प्रशिक्षक चन्द्र गुरुङ घोषित भए। यो अवार्ड विजेता गुरुङले पनि पल्सर एन १६० मोटरसाइकल पाए। उनलाई सूर्य नेपाल प्रालिका प्रतिनिधि विदुर अधिकारी र युनाइटेड अजोड इन्स्योरेन्स प्रालिका सिनियर डेपुटी सीइओ कुमारबहादुर खत्रीले अवार्ड हस्तान्तरण गरे।

गुरुङको प्रशिक्षणमा १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपालले दुई स्वर्णसहित ऐतिहासिक पदक प्राप्त गरेको थियो।

उक्त च्याम्पियनसिपमा नेपालले सिनियरमा दुई स्वर्ण र एक कांस्य तथा जुनियरमा दुई रजत र एक कांस्य पदक प्राप्त गरेको थियो। प्रशिक्षक गुरुङले बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमटालाई पछि पारे।

त्यसैगरि, युवा वर्ष खेलाडी क्रिकेटका देव खनाल घोषित भए। उनी आठ वर्षको खडेरी तोड्दै २०२४ को आइसीसी यु–१९ विश्वकप क्रिकेटमा नेपाल टिम छनोट गराउन सफल कप्तान हुन्।

देवकै कप्तानीमा नेपालले यूएईलाई फाइनलमा हराउँदै एसिया छनोटको उपाधि जित्न सफल भएको थियो । उनले एथलेटिक्सकी राममाया बूढा र बक्सिङकी सुष्मा तामाङ पछि पार्दै यो अवार्ड जिते।

देवले अवार्डसँगै पल्सर एन १६० मोटरसाइकल पुरस्कार पाए। उनलाई होटल याक एन्ड यतिकी महाप्रबन्धक मोनिका साई ब्लावर र इड्राइभ नेपाल प्रालिका अध्यक्ष राजेश मास्केले अवार्ड हस्तान्तरण गरे।

एनएसजेएफ पारा एथ्लिट अवार्डबाट मैयाँ बिसुंखे सम्मानित भइन्। उनले ट्रफीसँगै ५० हजार रुपैयाँ नगद पुरस्कार पाइन्। उनी सन् २००६ देखि पारा खेलकुदमा सक्रिय छिन्।

लाइफ टाइम एचिभमेन्ट अवार्ड पहिलो ओलम्पियन एवम् भारोत्तलक राजेन्द्रकुमार प्रधानले प्राप्त गरे। खेलाडी र प्रशिक्षकका रूपमा उनी झन्डै साढे पाँच दशक भारोत्तोलन खेलमा सक्रिय छन्।

प्रधानलाई नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र महासचिव प्रज्वल ओलीले अवार्ड र ५० हजार रुपैयाँ हस्तान्तरण गरे। स्पेसल अवार्डबाट पोखराका फोटो पत्रकार सुदर्शन रञ्जित सम्मानित भए। उनी चार दशकभन्दा बढी पोखराका खेल गतिविधिमा सक्रिय छन्।

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले अवार्ड हस्तान्तरण गरे। एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड हङकङका रेमण्ड चुलाई प्रदान गरिएको छ। उनलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले अवार्ड हस्तान्तरण गरे।

कुल ९ विधामध्ये एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विजेताबाहेक ८ विधाका विजेताले युनाइटेड अजोड इन्स्योरेन्सका तर्पmबाट एक वर्षका लागि खेलकुद बिमा पनि पाउनेछन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?