ठूलो परिमाणमा भारतीय नक्कली नोट बरामद
माघ २९, विराटनगर । सुनसरीमा भारतीय नम्बर प्लेटको गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरिएको छ।
स्कारपियो गाडीमा एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ । नक्कली नोटसँगै एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।
बीआर ११ एक्स ३४२९ नम्बरको स्कारपियो गाडीमा ल्याउँदै गरेको अवस्थामा सुनसरीको इनरुवा नगरपालिका–४ बाट उक्त नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ।
नियमित जाँचका क्रममा रहेको प्रहरी टोलीले शंकास्पद लागेपछि उक्त गाडीको तलासी लिएको थियो। पछाडिको भागमा बोरा र झोलामा हालेर लुकाएर राखेको अवस्थामा भारतीय नक्कली नोट बरामद भएको सुनसरीका प्रहरी उपरीक्षक विपिन रेग्मीले बताए।
गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अर्का एकजना व्यक्ति भने फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।