नेता र कलाकारबीचको फुटबल बराबरीमा
माघ २९, काठमाडौं । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको नेता र कलाकार बीचको फुटबल सोमबार खेल बराबरीमा सकिएको छ।
फागुन ११ देखि सुरु हुने केपी ओली कप फुटबल प्रतियोगिताको प्रचारका लागि लागि सातदोबाटोस्थित एन्फा मैदानमा नेता–कलाकारबीच मैत्रीपूर्ण खेल आयोजना गरिएको हो। खेलमा दुवै टिम ३–३ गोलको बराबरीमा रहे।
मैत्रीपूर्ण खेलका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले खेलाडीहरुले बाहिर राम्रो अवसर पाउने हुनाले बाहिरिने प्रवृत्ति बढेको भन्दै यसलाई रोक्नका लागि नेपालको खेलको स्तर बढाउनुपर्ने बताए।
‘राम्रो खेलाडीहरुका लागि बाहिर अवसर राम्रो छन्, तर हामीले पनि आफ्नो स्तर बढाउनुपर्छ। आफ्नै राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय टिमको जस्तै खेल्न सक्नेगरि स्तरवृद्धि गर्नुपर्छ। म प्रधानमन्त्री हुँदा पोखरा, जनकपुरमा रंगशालाको निर्माण भएको थियो र खेलाडीहरुको लागि राम्रो वातावरण पनि भएको थियो, उनले भने, ‘कसैलाई सुन्न मन लाग्दैन त के गरौ रुतर खेलाडीहरुका लागि पुरस्कारदेखि सबै काम गरेका थियौं।’
उनले आफू मैदानमा भएको भए जुन पोष्ट नजिक छ त्यहीँ गोल हान्ने भन्दै दुईवटै टिम आफ्नै भएको पनि बताए। उनले भने, ‘राजनीतिज्ञहरुले आफूले गोल नहानेर कलाकारहरुलाई जिताउन कस्तो राम्रो भूमिका खेल्नु भयो । म मैदानमा भएको भए कति गोल लाग्थ्यो कति, जुन पोष्ट नजिक छ त्यहीँ हाने भइहाल्यो।’
खेलमा नेताको टिमबाट एमालेका प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, महेश बस्नेतलगायत थिए भने कलाकारमा धिरेन शाक्य, आकाश श्रेष्ठ, केदार घिमिरेलगायत मैदानमा उत्रेका थिए।