एक सय ४९ किलो गाँजासहित १४ जना पक्राउ
फागुन १, विराटनगर । प्रहरीले ठूलो परिमाण लागूऔषध गाँजासहित १४ जनालाई पक्राउ गरेको छ। सुनसरीको धरान उपमहानगरपालिका–१३ जिरोप्वाइन्टबाट १ सय ४९ किलो गाँजासहित उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट अमरहाट धरानबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बीआर १० पी९१५४ र एमपी १७ टीए ०५१२ नम्बर गाडीलाई जाँच गर्ने क्रममा गाँजा फेला परेको थियो।
गाँजा ओसारपसारमा सक्रिय भारतको बिहारका ३१ वर्षीय मनोरन्जन मुइमार, ३९ वर्षीया गोपी मण्डल, २३ वर्षीय सञ्जयकुमार मण्डल, ३५ वर्षीया रेखा देवीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। यसैगरी पक्राउ पर्ने अन्यमा ३५ वर्षीया रिङ्की देवी, ३५ वर्षीया दया मण्डल, ३७ वर्षीय राजेश मण्डल, ४० वर्षीया पुनम देवी र २४ वर्षीया गुडिया देवी छन्।
गाँजा ओसारपसारमा बीआर १० एजे ४४८६ नम्बरको कार चालक भारतको बिहारका २३ वर्षीय सन्तोष साह, कारमा सवार २३ वर्षीय अंकितकुमार यादव, राजा जैसवाल, शिवम सिंह र सत्यम यादवको पनि संलग्नता रहेको पाइएपछि उनीहरुलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।