स्क्रिप्टका कारण अड्कियो अक्षयको ‘साइको’


फागुन ३, मुम्बई। गत वर्ष निर्देशक मोहित सुरीले आफूले अक्षय कुमारसँग एक्सन थ्रिलर फिल्ममा काम गर्न लागेको बताएका थिए। यो फिल्मको निर्माण रोहित शेट्टीले गर्ने कुरा निश्चित थियो।

मनोवैज्ञानिक एक्सन थ्रिलर फिल्म ‘साइको’का लागि उनीहरु सहकार्य गर्ने अन्तिम तयारी भइरहेको थियो। गत जनवरीबाट फिल्म सुटिङमा जाने कुरा भए पनि अहिलेसम्म जान सकेको छैन। अब भने यो फिल्मलाई निर्माताले ‘होल्ड’मा राखेका छन्।

समाचारअनुसार अक्षय, मोहित र रोहित स्क्रिप्ट र कथाको ‘ट्रिटमेन्ट’लाई लिएर एकमत हुन सकेका छैनन्। ‘मोहित र अक्षय फिल्म एक निश्चित शैलीमा बनोस् भन्ने चाहन्छन्, तर रोहित भने केही व्यावसायिक बनोस् भन्ने ठान्छन्। स्क्रिप्ट सन्तुलित बनाए पनि रोहित त्यसमा सहमत हुन सकेनन्। अन्ततः सहमति नहुँदा फिल्मको काम केही समयका लागि रोकिएको छ’, स्रोतले भनेको छ।

अक्षय र मोहित सन् २०१८ देखि नै टिम बनाएर काम गर्ने प्रयासमा छन्। तर पनि फिल्म निर्माणमा सहमति बन्न सकेको छैन। अक्षय अब साजिद नाडियाडवालाका लागि ‘हाउसफूल ५’ सुरु गर्दैछन्। यही बीचमा उनी केसी शंकरनको बायोपिक र ‘खेल खेल’को काम पनि सकाउने ध्याउन्नमा छन्। अक्षय र टाइगर श्राफको फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा रिलिजको तयारीमा छ। (बलिउड हंगामा)

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?