‘मुन्दुम’ अन्तर्राष्ट्रिय चित्रकलाको राष्ट्रपतिद्वारा अवलोकन
फागुन ६, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८० को काठमाडौँस्थित नेपाल आर्ट काउन्सिलमा शनिबार एक समारोहबीच उदघाटन गरे। क्यानभासमा रंग लगाएर राष्ट्रपति पौडेलले उद्घाटन गरे। सो अवसरमा त्यहाँ राखिएका चित्रकलाको राष्ट्रपति पौडेलले अवलोकन पनि गरे।
कला, संस्कृति र पर्यटन प्रवर्धनको उदेश्यले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौंले गत असोज १७ देखि २१ गतेसम्म दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला आयोजना गरेको र चित्रकलाको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन त्यसबाट सहयोग पुगेको जनाइएको छ।
नेपाल, अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लात्भिया, लिथुआनिया, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, युक्रेन र भियतनामसहित १४ देशका ४३ जना वरिष्ठ चित्रकारहरूको सहभागितामा सम्पन्न भएको चित्रकला कार्यशाला र ५० देशभन्दा बढीका चित्रकारद्वारा सिर्जना गरिएका चित्रसहित वृहत चित्रकला प्रदर्शनी यहाँ गरिएको हो। यस्तो प्रदर्शनीको माध्यमबाट उक्त नगरपालिका र सिंगो देशकै अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर बनाउँने काममा योगदान पुग्ने बताइको छ।