‘दंगल’ मा आमिर खानकी छोरीको भूमिकामा देखिएकी सुहानीको निधन


फागुन ६, मुम्बई । दंगलमा आमिर खानकी छोरीको भूमिका निभाएकी सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ। सुहानी भटनागरसँगै जायरा वसीम पनि आमिर खानकी छोरीहरूको बाल्यकालको भूमिकामा देखिएकी थिइन्।

इन्डियन एक्सप्रेसका अनुसार जब दंगल २०१६ मा रिलिज हुन लागेको थियो, तब आमिर खानले सुहानीको तारिफ गर्दै उनी आफूभन्दा राम्रो अभिनेत्री भएको बताएका थिए। आमिरले भनेका थिए, ‘यदि फिल्ममा हामी सबैको अभिनयको मूल्याङ्कन गर्ने हो भने म यी दुई बच्चालाई मेरो अभिनयभन्दा दश गुणा राम्रो भन्छु। फिल्म रिलिज भएपछि दर्शकले यो पनि देख्नेछन् ।’ नभन्दै उनको अभिनयको सबैतिर तारिफ हुन पुग्यो ।

सुहानी भटनागरको मृत्युको कारण उनको सम्पूर्ण शरीरमा तरल पदार्थ जम्मा भएको बताइएको छ। केही समयअघि दुर्घटनाका कारण उनको खुट्टा भाँचिएको थियो। उपचारका क्रममा लिइएको औषधिको साइड इफेक्ट देखियो र शरीरमा तरल पदार्थ जम्मा हुन थाल्यो। उनी लामो समय देखि दिल्लीको एम्स अस्पतालमा भर्ना थिइन्।

सुहानीको निधनको खबर आएपछि आमिर खान प्रोडक्सनले पोस्टमार्फत शोक व्यक्त गरेको छ। यो पोस्टमा लेखिएको छ कि ‘सुहानी सधैं हाम्रो हृदयमा एक तारा हुने छिन्।’

यसका साथै दंगलका निर्देशक नितेश तिवारीले पनि शोक व्यक्त गर्दै भनेका छन्, ‘सुहानीको निधन एकदमै स्तब्ध र दुःखदायी छ। उनी धेरै खुसी र भाग्यवान थिइन्। उनको परिवारमा मेरो गहिरो समवेदना छ।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?