महिला प्रिमियर लिग : दिल्ली क्यापिटल्सको शानदार जित


फागुन १५, नयाँदिल्ली । महिला प्रिमियर लिग (डब्ल्यूपीएल) मा दिल्ली क्यापिटल्सले शानदार जित निकालेको छ। सोमबार राति भएको खेलमा दिल्लीले युपी वारियसलाई ९ विकेटले पराजित गरेको हो।

बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा पहिले ब्याटिङ गरेको युपीको टोलीले ९ विकेट गुमाएर ११९ रन बनाएको थियो। दिल्ली क्यापिटल्सले १२० रनको लक्ष्य १ विकेटको क्षतिमा सहजै पुरा गर्न सफल भयो।

दिल्ली क्यापिटल्सले प्रतियोगितामा पहिलो जित हात पारेको छ भने युपीको यो लगातार दोस्रो हार हो। खेलको सुरुमा दिल्लीकी कप्तान मेग ल्यानिङले टस जितेर पहिले बलिङ गर्ने निणर्य गरेकी थिइन्।

युपीको सुरुवात निकै खराब रह्यो र पहिलो ३ विकेट १६ रनमा मात्रै खसेको थियो। जसमा वृन्दा दिनेश शून्य, ताहिला म्याकग्रा १ र कप्तान एलिसा हिली १३ रन बनाएर पभेलियन फर्किएका थिए।

मिडल अर्डरमा आएकी ग्रेस ह्यारिसले १७ रनको छोटो इनिङ खेलिन् तर उनी पनि राधा यादवको स्पिनमा फस्न पुगिन। ५ नम्बरमा ब्याटिङ गर्न आएकी श्वेता सेहरावतले सर्वाधिक ४५ रन बनाएर युपीको स्कोर १०० भन्दा माथि पुर्याउन महत्वपूर्ण योगदान दिएकी थिइन्।

दिल्लीका लागि राधा यादवले सर्वाधिक ४ विकेट र मरिज्ने क्यापले ३ विकेट लिइन्। १२० रनको लक्ष्यको जवाफमा दिल्लीको टोलीका ओपनिङ ब्याट्सम्यानले एकतर्फी जित दिलाए। कप्तान मेग ल्यानिङ र शेफाली वर्माले ११९ रनको साझेदारी गरे।

मेग लानिङले ४३ बलमा ६ चौका सहित ५१ रनको महत्वपुर्ण इनिङ खेले भने अर्को छेउमा शेफाली वर्माले पनि तुफानी पारि खेलिन्। शेफालीले ४३ बलमा ६४ रन बनाएकी छिन् भने आफ्नो इनिङ्समा ६ चौका र ४ छक्का प्रहार गरिन्।

जेमिमाह रोड्रिग्सले अन्तिममा आएर चौका प्रहार गर्दै दिल्लीलाई प्रतियोगिताको पहिलो जित दिलाइन्। युपीले दिल्लीविरुद्ध लिएको एकमात्र विकेट सोफी एक्लेस्टोनको नाउँमा रह्यो।

डब्ल्यूपीएल अन्तर्गत आज राति रोयल च्यालेन्जर्स बैंग्लोर र गुजरात जायन्ट्स आमने सामने हुने छन्। यो खेल राति पौने ८ बजे सुरुहुने छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?