नेदरल्यान्ड्समाथि नेपाल ६ विकेटले विजयी


फागुन १९, काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० श्रृंखलामा आन्तर्गत आजको खेलमा नेपाल नेदरल्याण्डसमाथि ६ विकेटको विजयी भएको छ। किर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा १२१ रनको लक्ष्य पाएको नेपालले १५.२ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रनको योगदान दिए। त्यस्तै, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन बनाए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले खराब सुरुवात गरेको थियो । पहिलो ओभरमै दुवै ओपनर गुमाएको उसले १९.३ ओभरमा अल आउट हुँदै १२० रन बनाएको थियो।

नेदरल्याण्ड्सका म्याक्स ओडाउडले सर्बाधिक ३१ रन बनाए। त्यस्तै, टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३-२३ र स्कट एडवार्ड्सले १८ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन्।

नेपालका प्रतिश जिसीले तीन, करण केसी र कुशल मल्लले दुई–दुई र दीपेन्द्रसिंह ऐरीले एक विकेट झारे। यस जितसँगै नेपालले चार खेलमा दुई चार अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ।

आजको खेलमा जितेसँगै नेपालको फाइनलमा स्थान बनाउने सम्भावना बलियो भएको छ। यद्धपि उसले आइतबार हुने नेदरल्यान्ड्स र नामिबियाको नतिजा पर्खनुपर्नेछ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?