किशोरी हत्या प्रकरण : तालिमप्राप्त कुकुर प्रयोग गरी अनुसन्धान
फागुन २२, विराटनगर । मोरङको पथरीशनिश्चरे–७ लामाटोलमा भएको १५ वर्षीया किशोरीको हत्या घटनाबारे प्रहरीले छानबिन तीव्र बनाएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार तालिमप्राप्त कुकुर र अनुसन्धान विशेषज्ञाहरुको सहभागितामा घटनाबारे अनुसन्धान भइरहेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा प्रेम सम्बन्धमा आएको विवादका कारण हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ। मामा घरमा बस्दै आएकी किशोरीको हिजो राति धारिलो हतियार प्रहार गरी हत्या भएको थियो।
राति करिब साढे १० बजे कोठाबाट शौचालय जाने क्रममा गर्धनसहित शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको पाइएको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
खोटाङको एँसेलुखर्क घर भएकी उनी मामाको छोरा (दाजु) विनोद राईको घरमा बस्दै आएकी थिइन्। स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत् थिइन्।
मोरङ प्रहरीका प्रवक्ता नायव उपरीक्षक रन्जनकुमार दाहालले घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको बताए। उनले प्रारम्भिक अनुसन्धानका क्रममा प्रेम सम्बन्धका कारण भएको हुनसक्ने देखिएको जानकारी दिए। अनुसन्धानका क्रममा प्रहरीले घरका मानिसहरु, छिमेकी अनि शंकास्पद व्यक्तिहरुसँग सोधपुछ गरिरहेको छ।
अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पथरीको टोलीका साथै जिल्ला प्रहरी कार्यालय मोरङको टोली समेत परिचालन गरिएको छ। यस क्रममा केही व्यक्तिलाई पक्राउ गरिएको भनिए पनि प्रहरीले भने सार्वजनिक गरेको छैन।