स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा
फागुन २६, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ। शुक्रबार राति भएको खेलमा बार्सिलोनाले मालोर्कालाई १–० गोल अन्तरले पराजित गरेको हो।
खेलको २४औँ मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टीमा इल्के गुन्डोगन गोल गर्न चुकेपछि अग्रता बनाउने अवसर गुमाएको थियो। बार्सिलोनाका लागि युवा स्टार लामाइन यमलले गरेको गोल नै निर्णायक बन्यो। गोलरहित बराबरीतर्फ उन्मुख खेलमा उनले ७३ औं मिनेटमा गोल गरेका हुन्। १६ वर्षिय यमलले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्दै बार्सिलोनाको खडेरी तोडेका थिए।
जितसँगै तालिकामा ३ अंक थपेको बार्सिलोना २८ खेलबाट ६१ अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको हो। एक खेल कम खेलेको रियल मड्रिड ६६ अंकका साथ शीर्ष स्थानमा छ। यसैगरी ५९ अंकका साथ जिरोना तेस्रो स्थानमा रहेको छ।