एसियाली छनोट खेल्ने तेक्वान्दो टोली आज चीन जाँदै


फागुन २८, काठमाडौं । फ्रान्सको पेरिसमा हुने ओलिम्पक तथा पारालिम्पक गेम्सका लागि हुने एसियाली तेक्वान्दो छनोट प्रतियोगितामा सहभागी हुन तेक्वान्दोको दुई टोली चीन जाने भएको छ। छनोट प्रतियोगिता मार्च १५ देखि १७ तारिखसम्म चीनको ताइयाङमा हुँदैछ।

पेरिस ओलम्पिकको छनोटअन्तर्गत पुरुष ५८ केजीमुनि राहुल कुमाल र ६८ केजीमुनि वीरबहादुर महरा तथा महिला ४९ केजीमुनि अन्जली तामाङ्ग र ६७ केजीमुनि इन्दिरा बस्नेतले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। प्रत्येक तौलसमूहमा पहिलो र दोश्रो हुने खेलाडी पेरिस ओलम्पिकका लागि छनोट हुने छन्।

प्रशिक्षकमा टीकाप्रसाद लिम्बू छन्। छनोट मार्च १५ र १६ तारिखमा हुनेछ। त्यसका लागि टोली सोमबार चीन प्रस्थान गर्दैछ। पेरिस पारालिम्पिक छनोटअन्तर्गत के–४४ क्याटगोरीको पुरुष ५८ केजीमुनि भरतसिंह महता र ६३ केजीमुनि अमिर ब्लोन तथा महिला ५७ केजीमुनि पलेशा गोवर्धनले नेपालको प्रतिनिधित्व गर्ने छन्। पलेशा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य पदक विजेता हुन्। बाँकी दुईको भने यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो।

प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन्। मार्च १७ तारिखमा हुने प्रतियोगितामा सहभागी हुन टोली मार्च १४ तारिख चीन प्रस्थान गर्ने छ। हरेक स्पर्धामा पहिलो हुने खेलाडी पेरिस पारालिम्पिकलाई छनोट हुने प्रावधान छ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य(सचिव टंकलाल घिसिङले टोलीलाई सफलताको शुभकामना दिदै आइतबार एक कार्यक्रमबीच बिदाइ गरे। सो अवसरमा सदस्य(सचिव घिसिङले छनोट प्रतियोगिता खेलाडीका लागि चुनौतीसंगै इतिहास दोहोर्‍याउने अवसर भएको बताउदै खेलाडीको तयारी बारे चासो व्यक्त गरेका थिए।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?