हजुरआमाको हत्या गरेको आरोपमा नातिसहित २ जना पक्राउ


चैत १, विराटनगर । एकजना वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। झापाको गौरादह नगरपालिका–७ योगिटारकी ८२ वर्षीया नरमाया विश्वकर्माको हत्या गरेको आरोपमा स्थानीय दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

फागुन २६ गतेदेखि घरबाट हराइरहेकी बृद्धाको खोजतलास गर्ने क्रममा आफ्नै घर पछाडि रहेको गुवालीमा खाल्डो खनेर गाडेको अवस्थामा फागुन ३० गते फेला परेकी थिइन्।

त्यसपछि घटनाबारे अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले घटनामा संलग्न रहेका मृतककै नाति १८ वर्षीय धीरज विश्वकर्मा र उनका साथी स्थानीय १८ वर्षीय राजु मल्लिकलाई पक्राउ गरेको हो।

गाँजा खाएर नशाको सुरमा बिकले फागुन २६ गते राति हजुरआमा शौचालय जान उठेको अवस्थामा फलामको रडले टाउकामा प्रहार गरेको प्रहरीले जनाएको छ।

वृद्धाको घटनास्थलमै मृत्यु भएको थियो। हत्यापछि साथी राजु मल्लिकको सहयोगमा घरनजिकै रहेको गुवालीमा खाल्डो खनेर गाडेको प्रहरीले पत्ता लगाएको थियो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?