अन्तर्वार्ता : नयाँ समीकरणप्रति सत्ता पक्षकै नेता सन्तुष्ट छैनन्, संसद विघटनको खतरा पनि देखिरहेको छु- रमेश लेखक
चैत ५, काठमाडौँ । कञ्चनपुर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रमेश लेखक नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीमा छन्। पछिल्लो सत्ता समीकरणका कारण प्रमुख प्रतिपक्षको बेञ्चमा सरेको नेपाली कांग्रेसको आगामी रणनीति र समसामयिक राजनीतिका विषयमा नेता लेखकसँग गरिएको संक्षिप्त कुराकानी:
झन्डै एक वर्ष सत्तामा बसेको नेपाली कांग्रेसले सत्ता परिवर्तन भएसँगै प्रतिपक्षको भूमिकामा पुगेको छ । एउटा भूमिकाबाट अर्को भूमिकामा सरेपछि अबकांग्रेसको भूमिका कस्तो हुने छ?
संसदमा एउटा सत्ता पक्षीय र अर्को प्रतिपक्ष गरी दुईवटा मुख्य भूमिका रहने गर्छन् ।दुवै भूमिका आफैंमा फरक हुन्छन् । अहिले हामी प्रतिपक्षको भूमिकामा छौं । हामी सरकारले गरेका कामहरुको मूल्यांकन गरेर तदनुरुप आफ्नो भूमिका निर्वाह गर्नेछौं । यो ज्यादा आलोचनात्मक भूमिका हुन्छ ।
सत्ता गठबन्धन परिवर्तन भएसँगै हिजो बाहिर बसेर खबरदारी गर्नेहरुलाई आज आफैंले खबरदारी गर्न पाइयो भन्ने लाग्दैछ वा असजिलो हुँदैछ बाहिर बस्न ?
हामीलाई बाहिरबस्न खास अप्ठ्यारो त हुँदैन तर तत्काल भूमिका परिवर्तन हुँदा संक्रमणकाल जस्तो हुने रहेछ । जस्तो कि, हामी सरकारमा हुँदा हाम्रै पार्टीका नेताले अर्थमन्त्रीको हैसियतमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरु सदनमा प्रस्तुत गर्नुभएको थियो । त्यस विधेयकमाथि छलफल हुँनैलाग्दा सरकार परिवर्तन भयो । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरुको जिम्मेवारी अब हामीले बोक्ने कि नबोक्ने, संक्रमणकालजस्तो भएको छ । हिजो त्यो संसदमा पेश हुँदा तत्कालिन प्रतिपक्षी एमालेले कामै नलाग्ने छ भनेर विधेयकलाई सिधै अस्वीकार गरेको थियो । अहिले त्यो दस्तावेज न सरकारमा जोडिएको एमालेले बोक्छ न प्रतिपक्षमा रहेको कांग्रेसले१ सरकार परिवर्तन हुँदा यस्ता खाले संक्रमणहरु देखिने रहेछन् ।
एकातिर सरकारमा सहभागी एमालेले सदनमै दस्तावेज अस्वीकार गरेको थियो । अर्कातिर दस्तावेज ल्याउने पार्टी नै सरकारमा छैन । उसो भए संसदमा प्रस्तुत भएको उक्त दस्तावेजको जिम्मेवारी अब कसले लिने त ?
त्यो संसदको सम्पत्ती हो । त्यसको प्रस्तोता पनि सरकार हो र जिम्मेवारी पनि उसैले लिनुपर्छ । तर,मैले भनेनि यस्ता कुराहरुमा अचानक आउने राजनीतिक परिवर्तनले एकखाले संक्रमण जस्तो स्थिति ल्याउनेरहेछ।
पछिल्लो समय सरकारमा रहेको मुख्य सहयात्री कांग्रेसले पत्तै नपाउनेगरी अचानक सत्ता पलटकसरी भयो रुतपाईं तत्कालीन समयमा माओवादीसँग गठबन्धन बनाउने समयपनि नजिकबाट सामेल हुनुभएको नेता हुनुहुन्छ । यो आकस्मिक घटनालाई कसरी हेरिरहनु भएको छ ?
तपाईंले भन्नुभएको उचित हो । मैले यो गठबन्धन बनाउँदाको क्रममा, रहँदाको क्रममा र भत्किँदासम्म नजिकबाट नै काम गरेको हो । यो तत्कालिन गठबन्धन भत्किनुको कारणमा बाहीर भन्दा र देखाउँदा एक खालको कारणहरु देखाएपनि यसको पछाडीको मुख्य कुराहरु विस्तारै खुल्दै जालान् । यति त प्रस्टै छ कि यो राजनीतिक छलफलकै साथ आएको गठबन्धन हो । राजनीतिक नजरले हेर्दा खासगरी बामपन्थी पार्टीहरु आपसमा मिल्ने मिलाउने, सकेसम्म पार्टी नै एक गर्ने वा नभएपनि मोर्चा बनाएर जाने मान्यताको साथ उहाँहरु अगाडि बढेको देखिन्छ ।
तर, प्रत्येक घटनामा तत्कालिन,दीर्घकालीन र अल्पकालीन कारणहरु हुन्छन्। यो गठबन्धनको दीर्घकालीन स्थिति भनेको पार्टी एक बनाउने,नभए मोर्चा बनाएर बामपन्थीहरुलाई एक ठाउँमा राख्ने देखिन्छ । हाम्रो महासमिति बैठक,मन्त्रीहरुको कार्यशैली र कांग्रेससँगगठबन्धनमा बस्न सहज भएन भनेर उहाँले जुन कारणहरु भनिरहनुभएको छ, यी त निहुँ खोज्नका लागि देखाईएका कारणहरु मात्र हुन् । मुख्य कारण देखाउन नमिलेर स्थापित गर्न खोजिएका सहायक र तत्कालिन साना कारणहरु हुन् । यत्ति कारणले मात्रै त गठबन्धन भत्काइहाल्नु पर्ने नै थिएन । अहिलेको गठबन्धन कुनै राजनीतिक छलफल र सल्लाहका साथ आएको मैले बुझेको छु ।
सत्ता परिवर्तनपछि संसदमा बोल्ने क्रममा तपाईंले प्रधानमन्त्रीलाई धोका पाएका दलहरु एक ठाउँमा उभिए भने के गर्नुहुन्छ भनेर प्रश्न गर्नुभएका थियो । प्रतिपक्षमा सर्दाको रोष पोख्नुभएको हो ?
रोष पोखेको होइन । मैंले तथ्यलाई गम्भीर भएर विश्लेषण गरेरै भनेको हो । जस्तो, एमालेले आफ्नो आधिकारीक दस्तावेजमा माओवादीबाट पटकपटक धोका खाएका छौं भनेर उल्लेख गरेको छ। हामीले पनि कांग्रेसलाई विश्वासघात भयो । यो राजनीतिक वेइमानी हो भनेर आधिकारीक धारणा राखेका हौं। माओवादी सरकार बनाउनका लागि मुख्य पार्टी बनेको अवस्था छ । चाहे कांग्रेस होस् या एमाले दुवैका लागि सरकार बनाउन माओवादीलाई नै सामेल गर्नुपर्ने हुन्छ ।
अब दुवै ठूला पार्टीले माओवादीबाट धोका खाएको निष्कर्षमा पुगिसकेपछिको अवस्था स्पष्ट भएपछि न मैले बोलेको हो । रोष पोखेको होइन् नि। पछिल्लो समय माओवादीको प्रवृत्ति अस्थीर देखिन्छ । त्यसले नेतृत्वप्रति नै अविश्वसनियता बढेको छ । चौध महिनामा तीन पटक सरकार परिवर्तन भयो नि । मैंले हिसाब गरेरै भनेको हो । यही गतिमा हिँड्ने हो भने १२ पटक पनि पुग्छ । अब हामीले चारचार महिनामा सरकार परिवर्तन गर्न थाल्यौं भने त्यसले जुन राजनीतिक अविश्वासर धोका सिर्जना गर्छ । अहिलेको प्रधानमन्त्री दाहाललाई भविष्यमा आफ्नै अस्थिर प्रवृतिले अप्ठ्यारोमा पार्छ ।
आलोचनात्मक रुपमा हेर्ने हो भने तपाईं आफ्नै पार्टीलाईअहिलेको परिवर्तनप्रति कति जिम्मेवार ठान्नुहुन्छ ?
अहिले सत्ता परिवर्तन राजनीतिक छलफल र सल्लाहबाटै उहाँहरुले गरेको देखिन्छ । त्यसमा कांग्रेसले आफूलाई दोषी मान्नुपर्ने जस्तो लाग्दैन । कांग्रेसबाट पनि केही कमजोरी भएका छन् ।तर, प्रधानमन्त्रीले देखाउनु भएको कारणहरु भनेका सहायक मात्र हुन् । कांग्रेसका कारणले उहाँलाई गठबन्धन छुट्टाउनैपर्ने थिएन । निहुँ चाहिन्छनि छुट्टिन । त्यो निहुँ कांग्रेसका कारण माओवादीले पाएको हो । त्यो मूल कारण भने होइन ।
गठबन्धन फुटाएपछि कांग्रेसकै कारणले फुटेको भन्ने जुन भाष्य निर्माण गर्न खोजियोत्यो कांग्रेसकै कारणले मात्र होइन भनेर हामीले बोल्नुपर्ने अवस्था आएकाले मैले सदनबाट सबै स्पष्ट पारेको हो । गठबन्धन भत्काइसकेपछि मेरा कारणले भनेर जिम्मेवारी लिन त कसैले सक्ने कुरै भएन । अनि भएका साना कारणहरुलाई अतिरञ्जनापूर्ण ढंगले यही कुरा ठूलो हो भन्नेगरी प्रस्तुत गरियो । तर,कांग्रेसकै कारण गठबन्धन भत्काउनुपर्ने अवस्था थिएन । सदनमा मैले यही कुरा स्पष्ट पारेको मात्र हूँ।
गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन भनेर तपाईं भन्नुहुन्छ । कोशी प्रदेशको पछिल्लो सत्ता समीकरण र गत संसदीय निर्वाचनमा कांग्रेसले माओवादीलाई भोट नहालेको स्पष्ट छ । महासमितिमा माओवादीको जनयुद्धलाई अपमान हुनेगरी प्रस्तुत गर्ने कांग्रेस नै हो । सत्ता मै रहँदा नि एक धारका नेताहरु गठबन्धन चुनावसम्म जाँदैन भनेर बोलिरहन्थे । अनि दोष जति सबै माओवादीको मात्रै हो रुकांग्रेसले आत्मसमीक्षा गर्छ आगमी निर्वाचनलाई लिएर ?
हाम्रो मिश्रित निर्वाचन प्रणालीकै कारण एकल बहुमतको सरकार कुनैपनि पार्टीले बानाउन सक्ने अवस्था छैन । गठबन्धन त बनाउनैपर्छ । निर्वाचन अगाडि या पछाडि भन्ने विषय मात्रै हो । यो प्रणाली रहँदासम्म एक अर्काले मिलेरै सरकार बाउनुपर्ने अवस्था आउने गर्छ ।कांग्रेस एक्लै आफ्नै बलमा निर्वाचन लडेर मत पाइसकेपछिको अवस्था हेरेरजे गर्नुपर्छ गरौंला भन्ने मत कांग्रेसभित्र छ ।
अर्कोतिर तत्कालिन समयमै अवस्था हेरेर परिस्थिति अनुसार रणनीतिक रुपमा कांग्रेस चुनावमा जानुपर्छ भन्ने धार पनि छ । अहिले कांग्रेसले गठबन्धनको परिभाषा गर्दा माओवादीलाई मात्र हेरेर गर्छौ कि गर्दैनौ भनिरहेका छौं । त्यसो गर्नु नै हुँदैन । भोलि निर्वाचनमा सबै कम्युनिष्टहरु एक भएर लडेभने कांग्रेसले बाँकी रहेका साना लोकतान्त्रिक पार्टीसँग मिलेर गठबन्धन गर्ने कि नगर्ने त ? यो हामी आफैं भित्रको बहसको विषय हो।
नयाँ समीकरण बनेपछि कांग्रेसका नेतादेखि सहमहामन्त्रीसम्मले र एमालेका नेताहरुले पनि मिलेर गठबन्धन बनाउनुपर्छ भनेको सुनिन्छ । सम्भव छ अब त्यसो गर्नलाई ?
मैंले गठबन्धनमा जोडिएका कुनैपनि पार्टीभित्र पूर्ण सन्तुष्टि देखिराखेको छैन । एमालेका तमाम यस्ता साथीहरु छन् जो संसदभित्र र बाहिरपनि प्रचण्डसँगको मेलमिलापबाट सन्तुष्ट छैनन् । एउटै पार्टी बनाउँदा पनि प्रचण्डसँगको सम्बन्ध तोडेर गएको असफलताको अनुभव हुँदाहुँदै फेरि उनैसँग मिल्ने कुरा बेठिक हो भन्ने एमाले भित्रका धेरैलाई परेको छ । माओवादीकालाई पनि पुरानै सम्बन्ध नभूल्दै हतारमा नयाँ सम्बन्ध प्रचण्डले बनाए भन्ने परेको छ। माधवजी (माधवकुमार नेपाल)को पार्टीको विचार संसदभित्रैबाट सबैले सुनेका छन् । प्रमाण नै त छैन मसँग तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र पनि असन्तुष्टिको लहर छ भन्ने सुन्दैछु । जसपाको थाहै छ सबै । प्रचण्डले चारवटा पार्टीलाई लिएर गठबन्धन बनाउनुभयो । यो गठबन्धन भित्रका चारै पार्टीभित्र गठबन्धनलाई लिएर सन्तुष्टि छैन्। यो एउटा परिस्थिति हो ।
अर्को, प्रचण्डजीको पहिलेको र अहिलेको मतभार हेर्दा निकै तल आइसकेको छ । यो गठबन्धनका विरुद्धमा प्रतिपक्ष बलियो भएर अगाडि बढेको छ ।यो गठबन्धन धेरै दिन जानेमा कोहीविश्वस्त छैनन् । त्यसैले फाइदा चाँही कांग्रेसलाई नै भएको छ। पार्टीभित्र अभूतपूर्व एकता देखिएको छ । त्यो बाहेक सरकारमा गएका सबै पार्टीमा विभाजन देखिन्छ । स्वभाविक रुपमा सम्भावना नयाँ कुराको लागि देखिएको छ । एक त नेपाली राजनीतिमा जे पनि सम्भावना हुन्छन् । अर्कातिर गठबन्धनभित्रका दलमा पनि एकता देखिँदैन । यस्तो बेलामा सम्भावना रहिरहने हुनाले तपाईंले भनेजस्तो आँकलन भैरहेका छन् ।
तिव्र रुपमा हुने सरकार परिवर्तनका कारण संसदको पूर्ण कार्यकालमाथि प्रश्न उठ्छ कि उठ्दैन ?
हामी कुनै पनि हालमा संसदलाई विघटन गर्नेतर्फ जानै हुँदैन । तर, खतरा भने बढेको छ । संसद विघटनको विगतका घटनाले सुखद परिणाम ल्याएका छैनन् । सबैले देखेका छौं । तारन्तार चारपाँच महिनाको अन्तरालमा नयाँ गठबन्धन बन्ने र सरकार परिवर्तन भइरहने अवस्थाले गर्दा संविधानका व्यवस्थाहरु एकपछि अर्को प्रयोग हुँदै गएर विकल्प विनाको निर्वाचन भन्ने ठाउँमा पुग्न सकिने अवस्था आउनसक्छ । त्यहाँसम्म पुग्नै हुन्न । सरकार परिवर्तनलेमात्रै अस्थिरता ल्यायो भन्न त हुँदैन । तर परिवर्तनको जुन गति अहिले देखिएको छ यसरी नै गयो भने आम जनतामा संविधान र व्यवस्थाप्रति नै वितृष्णा आउँछ।
तपाईंले अघि अझै नयाँ गठबन्धनको सम्भावना छ भनिसक्नुभयो । कांग्रेसमा एकता पनि देखिएको छ। कांग्रेसले अब केही समय सत्ताको लोभ नगरेरसंसदको यो कार्यकालसम्म आगामी निर्वाचनको तयारी गर्दै प्रतिपक्षमै रहेर क्रियाशील हुन सक्दैन ?
अहिले मैले के देखिराखेको छु भने गठबन्धन भत्किएपछि हाम्रो पार्टीमा अलि जोश र एकता देखिएको छ। कम्युनिष्ट सबै मिलेपनि मिल्छन् हामी एक्लै निर्वाचनमा जान्छौ भन्ने कुरामा अलिकति उत्साहित देखेको छु कांग्रेस । यही उत्साहले कांग्रेसलाई अबका दिनमा सत्ताको लोभ नगरेर प्रतिपक्षमै बसेर सडक र सदनबाट रचनात्मक,सिर्जनात्मक,जिम्मेवार र क्रियाशील भूमिका निर्वाह गरे जाउँ भन्ने स्थितिमा पुर्याउन सक्छ । कांग्रेस आफ्नै विचारले कालजयी छ । जस्तोसुकै स्थितिमा पनि कांग्रेसले आफ्नै विचारमा उभिएर जस्तोसुकै चुनौतिको पनि सामना गर्न सक्छ । हामीलाई त्यसका लागि पार्टी उत्साह,विश्वास र आत्मवल मात्रै चाहिएको छ।
अहिलेसम्मको संविधानको कार्यान्वयनको अवस्था हेर्दा यसको भविष्य कस्तो देख्नुहुन्छ ?
निकै महत्वपूर्ण विषय सोध्नुभयो । यसलाई दुई हिसाबले हेरौं । एउटा हामी त्यस्तो देश हौं जहाँ सात दशकमा दशओटा संविधान बनाइसकेका छौं । संविधान धेरै बन्नु भनेको राम्रो मानक होइन, मानिँदैन । त्यो त धेरै व्यवस्थाको असफल प्रयोग गर्यौं भन्ने हो । त्या त हामी कति धेरै अस्थिरताको दौडबाट जुज्रियौं भन्ने प्रमाण हो । अब हामीलाई यो संविधान असफल बनाउने छुट छैन ।यसलाई सफल बनाउनै पर्छ । तर, संविधान जडवस्तु होइन चलायमान र क्रियाशील दस्तावेज हो । यसलाई गीताको रुपमा हेर्न थालियो भने फेल हुनेतिर जान्छ । आजको दिनमा संविधानलाई पुनरावलोकन गरेर यसभित्रका कमीकमजोरी,जटिलता र कार्यान्वयनमा देखिएका समस्याहरुलाई संशोधनमार्फत सुधार गरेर लिएर जानुपर्ने बेला भैसक्यो । संशोधन गर्दा यसका आधारभूत मर्महरु मर्नु हुँदैन । संविधानको पुनरावलोकन गरेर दीर्घजिवी बनाउन यसमा सिर्जनशिल र रचनात्मक परिवर्तन गरौं।
संविधानको पुनरावलोकनसहित रचनात्मक संशोधन गरौं भन्नुभयो । बाहिर हिन्दु राज्यको पक्षमा आवाज उठिराखेका छन् । कांग्रेसभित्रै पनि धर्म निरपेक्षता हुनुहुँदैन भन्ने आवाज उठेको छ । त्यो विषय संशोधनमा पर्छ ?
हामीले अध्ययन गर्दा समग्रतामा गर्न पाइयो । तर,संविधानका धर्म निरपेक्षता लगायतका केही आधारभूत तत्वहरु छन् त्यसलाई अहिले नै खलबल्याउन हुँदैन । नेपाल धेरै धार्मिक,सामाजिक,जातिय सहिष्णुता भएको देश हो । यसलाई हामीले यो र त्यो धर्म भन्ने बहसमा लिएर गयौं भने यसले अहिले हाम्रोसामाजिक सद्भावमा खलल गर्छ । यो विषयलाई सबैले गम्भीरतापूर्वक सोच विचार गर्न जरुरी छ।
एउटा प्रश्न तपाईंलाई मात्र । पार्टीभित्र प्रमुख सचेतककोजिम्मेवारीमा हुनुहुन्छ। पछिल्लो समय राजनीतिक परिवर्तनमा शीर्ष नेताहरुसँगै बसेर भूमिका निर्वाह गर्नुभएको छ। आफ्नो निर्वाचन क्षेत्रका बारेमा सोच्ने विचार गर्ने फुर्सद कत्तिको हुन्छ ?
हामी नितान्त विकासका मुद्दामा चुनाव लड्छौं । काठमाडौं आइसकेपछि पार्टी,संसद,सरकार र आफ्ना अन्य जिम्मेवारीहरुमा लाग्दा भूमिका अलिकति परिवर्तन हुन्छ । चुनावको बेला विकासका बारेमा बोलेका सबै कुरा पूरा गर्न सकिँदैन । त्यसैले आलोचना पनि हुन्छ । तथापि मैँले आफ्नो निर्वाचन क्षेत्रमा सकेसम्म काम गर्ने कोशिस गरेको छु । धेरै कुरामा सफलता पाएको पनि छु । कतिपय कुरा चाहना भएर पनि पुरा हुँदैन।
अन्तमा, एउटा नेताले आफ्नो एक दिन कसरी विताउनु पर्छ ? तपाईंको दिनचर्या कस्तो हुन्छ ?
नेताले सबैभन्दा पहिले त तनावलाई व्यवस्थापन गर्न जरुरी छ । योगध्यान गरेर मानसिक र शारीरिक रुपमा स्वस्थ हुन जरुरी छ। किनभने नेताको जीवन धेरै अस्तव्यस्त भएको देख्छु । मेरो अनुभवमा जसरी व्यवस्थित दिनचर्या हुनुपर्ने हो त्यस्तो छैन, हुँदैन । मेरो एक दिनमा बिहानको नित्यकर्म, कहिलेकाहीं योग र व्यायाम, त्यसपछि साथीभाई,व्यक्तिगत सामुहिक भेटघाट हुन्छ । पार्टीको जिम्मेवारीका काम यस्तै यस्तै हो । व्यवस्थित दिनचर्या हुँदैन । नेताको एकदम कमजोर पक्ष भनेको न जीवन व्यवस्थित छ न अनुशासित नै१