इलाम २ को उम्मेदवार चयन काठमाडौंको गोप्य कोठामा हुँदैन : गगन थापा
चैत १७, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इलाम २ को उपनिर्वाचनका लागि कांग्रेसले पार्टी कार्यालयको गोप्य कोठामा बसेर उम्मेदवार छानेर गल्ती नगर्ने बताएका छन्।
‘इलाममा उम्मेदवार बन्न आकाक्षा राख्ने नेताहरुमा वहालवाला जिल्ला सभापति, हुनेवाला सभापति, हुन नसकेको पार्टी सभापति, पूर्वसभापतिलगायत सात जना हुनुहुन्छ। उम्मेदवार छान्ने बेलामा सानेपाको पार्टी कार्यालयमा हामी सिमित व्यक्तिले छान्ने प्रक्रिया नै गलत छ। एक जना छान्दा अरुलाई अन्याय भयो भन्ने लाग्छ। कि भारतीय जनता पार्टीले जस्तो सर्भे विधिमा जानुपर्यो। चुनाव भन्दा अघि एउटा टिम पठाएर सर्भे गर्ने विधि अपनाउनु पर्यो। सर्भेले अलोकप्रिय ठहर्याएको व्यक्ति टिकट नपाउने व्यवस्था हुनुपर्यो। होइन भने जिल्लाकै साथीहरुले निर्णय गर्नुपर्छ। नत्र पार्टीको विधि र विधान अनुसार हुनुपर्छ,’महामन्त्री थापाले भने।
शुक्रबार संवाद यात्राका क्रममा कपिलवस्तु लबनीमा खुला संवाद कार्यक्रममा बोल्दै इलामको उम्मेदवार काठमाडौंमा चयन गर्नु गलत भएको बताए। महामन्त्री थापाले भने,‘भोलि चुनाव जिताउने बेलामा उहाँहरु सबै जुट्नुपर्छ। उहाँहरु नै हो खट्नुपर्ने। त्यसैले उम्मेदवार छनोट गर्न पनि जिल्लाकै क्रियाशील साथीहरुलाई जिम्मेवारी दिनुपर्छ। इलामको उम्मेदवार इलामले नै चयन गरोस र जिताओस।’
आउँदो बैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य चयनका लागि उपनिर्वाचन हुँदैछ। अन्य सबै राजनीतिक दलहरुले उम्मेदवारको छिनोफानो गरेर चुनावी अभियान सुरु गरेपनि कांग्रेसले आधिकारिक उम्मेदवार चयन गर्न सकेको छैन्। गत भदौमा एमाले उपाध्यक्ष एवम उक्त क्षेत्रका प्रतिनिधि सभा सदस्य नेम्वाङको निधन भएपछि उप निर्वाचन हुन लागेको हो।