आइपीएल : मुम्बई र राजस्थान २९ औँ पटक भिड्दै, यस्तो छ दुबै टोलीको सम्भावित प्लेइङ-११


चैत १९, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज मुम्बई इन्डियन्स (एमआई) र राजस्थान रोयल्स (आरआर) भिड्दैछन्। यी दुईबीचको १७औं सिजनको १४औँ खेल राति पौने ८ बजेदेखि मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा हुनेछ।

पाँच पटकको च्याम्पियन मुम्बई आफ्नो सुरुवाती दुवै खेल हारेर अंक तालिकाको पुछारमा छ। अर्कोतर्फ सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थानको टोली सुरुवाती दुवै खेल जितेर तेस्रो स्थानमा छ।

यसअघि आईपीएलमा एमआई र आरआरबीच २८ खेल भएको छ। मुम्बईले १५ र राजस्थानले १२ खेलमा जितेको छ। एक खेलमा भने नतिजा निस्किएन। दुई टोलीबीचको अन्तिम खेल गत वर्ष मुम्बईमा भएको थियो जसमा मुम्बई ६ विकेटले विजयी भएको थियो।

दुई टोलीबीच वानखेडे स्टेडियममा भएको ८ खेलमा मुम्बईले ५ र राजस्थानले ३ खेल जितेको छ। पहिलो दुई खेलमा हार बेहोरेको मुम्बई इन्डियन्सको ब्याटिङ र बलिङ दुवै असफल भयो। यो सिजन टिमका लागि तिलक वर्माले सर्वाधिक रन बनाए। उनले २ खेलमा ८९ रन बनाएका छन्। बलिङमा जसप्रित बुमराहले टिममा सर्वाधिक ३ विकेट लिएका छन्।

सुरुका दुई खेलका आधारमा राजस्थान रोयल्स ठीक फर्ममा छ। ब्याट्सम्यानदेखि बलरसम्म सबैजना फर्ममा देखिएका छन्। यो सिजनमा आरआरका युवा शीर्ष क्रमका ब्याट्सम्यान रियान परागले टिमका लागि सर्वाधिक १२७ रन बनाएका छन्। जबकि स्पिनर युजभेन्द्र चहलले सर्वाधिक ३ विकेट लिएका छन्।

वानखेडेको पिच सामान्यतया ब्याट्सम्यानका लागि बढी सहयोगी साबित हुन्छ । उच्च स्कोरिङ खेलहरू यहाँ देखिएका छन्। यो विकेटमा पेसर्सले पनि सहयोग पाउँछन्। विशेष गरी नयाँ बलमा बलिङ गर्दा यहाँका बलरहरूले राम्रो स्विङ र बाउन्स हुने गरेको छ। हालसम्म वानखडेमा १०९ वटा आईपीएल खेलहरू खेलिएका छन्।

दुबै टोलीको सम्भावित प्लेइङ–११
मुम्बई इन्डियन्सः हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, इशान किशन (विकेटकीपर), नमन धीर, तिलक वर्मा, रोमारियो शेफर्ड, टिम डेभिड, शाम्स मुल्लाने÷कुमार कार्तिकेय, पियुष चावला, जेराल्ड कोएत्जी र जसप्रित बुमराह । इमप्याक्ट प्लेयरः नुवान तुषारा, आकाश मधवाल, नेहल वढेरा।

राजस्थान रोयल्सः सञ्जु सैमसन (विकेटकीपर र कप्तान), यशस्वी जैसवाल, जोस बटलर, रियान पराग, ध्रुव जुरेल, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र आवेश खान। इमप्याक्ट प्लेयरः नान्द्रे बर्गर।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?