जम्कट्टेललाई विश्वासको मत दिन अनिवार्य उपस्थित हुन एमालेको निर्देशन
चैत १९, हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले चैत १९ गते १ बजे बस्ने प्रदेशसभा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएका छन्।
सोमबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची रहेकाले बैठकमा अनिवार्य उपस्थित हुन नेता थपलियाले निर्देशन दिएका हुन्।
नेता थपलियाले बैठकमा अनिवार्य उपस्थिति भएर मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएका छन्।
बदलिएको सत्ता समीकरणमा एमाले साझेदार दल भएकाले आफ्ना सांसदलाई मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतको पक्षमा मतदान गर्न निर्देशन जारी गरेका हुन्।
सत्ता समीकरण अनुसार शनिबार मात्र एमाले बागमती प्रदेश सरकारमा सहभागी भएको थियो । एमालेबाट नेता थपलिया प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका थिए।