मुख्यमन्त्री चौधरीद्वारा राजीनामाको घोषणा
चैत २२, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्दै उहाँले राजीनामाको घोषणा गरेका हुन्।
मुख्यमन्त्री चौधरीले प्रदेशसभालाई सम्बोधन गर्दै प्रशासनलाई चुस्त दुरुस्त बनाउन नसकेको बताए। उनले भने, “सत्ताको चाकडी गर्ने प्रवृत्तिले प्रशासन अघि बढ्न सक्दैन।” कर्मचारी प्रशासनकै कारण विकासे बजेट खर्च न्यून हुने गरेको उनको भनाइ छ। मुख्यमन्त्री चौधरीले सत्ता अस्थायी हुने उल्लेख गर्दै सङ्घीयता जोगाउन सबै एकमतका साथ अघि बढ्नुपर्ने बताए।
लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्तापक्ष दलहरु सहमत भएका छन्। एमाले, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसद खड्कबहादुर बस्नेतले पाँच बुँदे सहमति गर्दै महरालाई मुख्यमन्त्री बनाउन सहमत भएका हुन्।
सतासी प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सदस्य चाहिन्छ। लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १० (सभामुख बाहेक), जनता समाजवादी पार्टीका तीन, एकीकृत समाजवादीका एक तथा एक स्वतन्त्र प्रदेशसभा सदस्यले महरालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन्।
माओवादी केन्द्रका संसदीय दलका नेता महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपा संसदीय दलका नेता भण्डारीलाल अहिर, एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद बस्नेतले हस्ताक्षर गरी पाँच बुँदे समझदारी गरेका हुन्।