नेपालमा नीतिगत भ्रष्टाचार भइरहेको छ : उपसभामुख मगर


चैत २४, काठमाडौं । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले मुलुकमा नीतिगत भ्रटाचार भइरहेको बताएकी छिन्। शुक्रबार राजधानीमा आयोजित ‘नेपालको अर्थतन्त्रको यथार्थ स्थिति र सम्भाव्य कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख मगरले सांसद र मन्त्रीहरुबाटै नै नीतिगत भ्रष्टाचार भइरहेको बताइन्।

नेताहरुले गाडी मर्मतका नाममा समेत भ्रष्टाचार गर्ने गरेको उनको आरोप छ। उनले भनिन्, ‘बजेटमा भ्रष्टाचार गर्नको लागि अनेकौं जुक्ति लगाइरहेका छन् । नामै तोकेर त म भन्दिन। कति पटक गाडि मर्मतका नाममा भ्रष्टाचार गरिरहेका छन्। पुराना गाडि मर्मतका लागि प्रतिशतका हिसाबले दिएको छ नि त। अहिले मान्छेहरुले कताबाट आय हुन्छ भन्ने मात्र खोजे। यसरी पनि देश चल्छ ?’

भ्रष्टाचार मुक्त देश निर्माणका लागि सबै मिलेर सरकारमाथि भ्रष्टाचार नियन्त्रणका लागि दबाब बढाउनुपर्ने मगरको भनाइ थियो। अहिलेको अवस्थामा दैनीक तीन हजार युवाहरु विदेशीरहेको उल्लेख गर्दै उनले युवा पलायन रोक्न व्यवसायीहरुसँग सहकार्य गरि स्वदेशमै केही गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताइन्।

उनले भनिन्,‘ अहिले दैनिक तीन हजारभन्दा बढी युवाहरु विदेशीदै छन्। उहाँहरुलाई रोक्न व्यापारीहरुसँग सहकार्य गरि स्वदेशमै बस्ने वातावरण मिलाउनुपर्छ।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?