आइपीएल : कोलकाताविरुद्ध चेन्नईको जित


चैत २७, काठमाडौं । कोलकाता नाइट राइडर्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ। इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा लगातार तीन खेलमा जित निकालेको कोलकातालाई सोमबार राति चेन्नाई सुपर किंग्सले अपराजित यात्रामा पूर्णविराम लगाएको हो।

चेन्नाइको भने जारी प्रतियोगितामा ५ खेल मध्य तेस्रो जित हो। जितसँगै चेन्नाई ६ अंक बनाएर तालिकाको चौथो स्थनमा उक्लिदा कोलकाता भने समान ६ अंकका साथ रनरेट राम्रो रहँदा दोस्रो स्थानमा रहेको छ।

चेन्नाइमा भएको खेलमा कोलकाताले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो। जवाफमा १७।१ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाउँदै चेन्नाइले ७ विकेटको सहज जित दर्ता गर्न सफल भयो।

टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले पहिलो बलमा फिल साल्टलाई गुमाएको थियो। त्यसपछि सुनिल नारेन र अंगकृष रघुवंशीले दोस्रो विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए। रंघुवंशी व्यक्तिगत २४ रन बनाएर पभेलियन फर्किए। उनले एक छक्का र तीन चौका प्रहार गरेका थिए।

कप्तान श्रीयस अय्यर र सुनिल नारेनले पारि अघि बढाउन खोज्दा नारेन २७ रन बनाएर तेस्रो विकेटको रुपमा पभेलियन फर्किए। उनले २७ रन बनाउँदा दुई छक्का र तीन चौका प्रहार गरे। टिमको स्कोर ८.२ ओभरमा ८४ रन पुगेका बेला बेंकटेस अय्यर ३ रन बनाएर आउट भएका थिए।

रमनदीप सिंहले १३ रन जोड्दा रिंकु सिंहले ९ रनको पारि खेले। रिंकु आउट हुँदा कोलकाताले १६।४ ओभरमा ११२ रन बनाएको थियो। आन्द्रे रसेलको पारि पनि खास रहेन।

उनी १० रन बनाएर आउट भएका थिए। मिचेल स्टार्कले खाता खेल्न सकेनन् भने त्यसअघि ३४ रनको सर्वाधिक ठूलो पारि खेलेका कप्तान श्रीयस अय्यर आउट भए। उनले ३२ बलमा तीन चौका प्रहार गरेका थिए। अनुकुल रोय तीन तथा विभव अरोरा एक रनमा नटआउट रहँदा कोलकताले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३७ रन बनायो।

चेन्नाईका तुसार देशपाण्डे र रविन्द्र जडेजाले तीन–तीन विकेट लँदा मुस्फिजुर रहमानले दुई विकेट लिए। १३८ रनको सामान्य लक्ष्यसहित मैदान उत्रिएको चेन्नाईले सहजरुपमा जित निकाल्न सफल भयो। मध्यम सुरुआत गरेको चेन्नाइका लागि रचिन रविन्द्रले आठ बलमा १५ रनको पारि खेल्दा तीन चौका प्रहार गरे।

त्यसपछि कप्तान ऋतुराज गायकवाड र डिरेल मिचेलले मोर्चा सम्हालेका थिए। मिचेल १९ बलमा २५ रन बनाउँदा एक छक्का र एक चौका प्रहार गरेर क्रिजबाट विदा भए।

त्यसपछि गायकवाड र शिवम दुवे मिलेर टिमलाई जित नजिक लगेका थिए। दुवेले १८ बलमा २८ रनको पारि खेल्दै आउट हुँदा तीन छक्का र एक चौका प्रहार गरे।

एक छेउँमा डटेका कप्तान गायकवाडले ५८ बलमा ६७ रनको नटआउट पारि खेल्दा नौं चौका प्रहार गरे। उनलाई महेन्द्रसिंह धोनीले १ रनको नटआउट पारि खेलेर साथ दिँदा १७.४ ओभरमा ३ विकेट गुमाएर चेन्नाई विजयी भयो। कोलकाताका लागि विभव अरोराले दुई तथा सुनिल नारेनले एक विकेट लिए।

आइपीएल अन्तर्गत नेपाली समय अनुसार आज राति पौने ८ बजे पञ्जाव किंग्स र सनराइजर्स हैदरावाद आमने सामने हुने छन्। दुवै टिम तेस्रो जितको खोजिमा मैदान उत्रने छन्।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?