अपराजित रहँदै नेपाल बन्यो समूह विजेता, साउदी अरेबिया ६ विकेटले पराजित
वैशाख ५, काठमाडौं । नेपालले साउदी अरेबियालाई हराउँदै एसीसी प्रिमियर कपमा अपराजित यात्रा कायम राखेको छ। ओमानमा बुधबार भएको खेलमा नेपालले साउदीलाई ६ विकेटले पराजित गर्दै समूह विजेता बन्न सफल भएको हो।
वर्षाका कारण पिच प्रभावित भएपछि ८ ओभरमा झारिएको खेलमा साउदीले नेपाललाई ७४ रनको विजय लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले ७।२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्याे।
नेपालका लागि गुल्शन झाले सर्वाधिक अविजित ३२ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेलले अविजित १६ रन बनाए। त्यस्तै दीपेन्द्र सिंह ऐरीले १७ रनको योगदान दिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउदीले निर्धारित ८ ओभरको खेलमा ७ विकेट गुमाएर ७३ रन बनाएको थियो। साउदीका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। नेपालका लागि करण केसी र अविनाश बोहोराले २–२ र ललित राजबंशी र प्रतिश जिसीले १–१ विकेट लिए।