सुनिल पौडेलविरुद्ध २३ करोड ७५ लाखको भ्रष्टाचार मुद्दा


वैशाख ९, काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ करोड ७५ लाख बिगो मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा आयोगले आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। आम्दानी र खर्चको हिसाब गर्दा पौडेलको आर्जन अस्वाभाविक देखिएको आयोगको आरोपपत्रमा छ।

गत माघ १० मा पक्राउ उनी र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई अझै आयोगको हिरासतमा छन्। सुनिल पेमेन्ट गेटव र गैरकानुनी सम्पत्ति आर्जन आरोपको अनुसन्धानका लागि पक्राउ गरिएका हुन् भने विकल विकलमाथि ओहोदा ढाँटेर सार्वजनिक पदमा पुगी भ्रष्टाचार गरेको आरोप छ। विकलविरुद्ध आइतबार नै आयोगले छुट्टै मुद्दा दायर गरेको छ।

सुनिलविरुद्ध आयोगद्वारा दायर यो दोस्रो भ्रष्टाचार मुद्दा हो। गत असोजमा दायर राष्ट्रिय भुक्तानी प्रणाली ९पेमेन्ट गेटवे० स्थापनामा अनियमितताको मुद्दामा उनलाई विशेष अदालतले गत शुक्रबार दोषी ठहर गरेको थियो। कसुर निर्धारणका लागि भने अदालतले वैशाख २५ गतेका लागि पेसी तोकेको छ।

सुनिल पौडेल २०६१ जेठ २० मा सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा प्रशासकीय अधिकृत पदमा करारमा नियुक्त भई २०६२ माघ २८ सम्म कार्यरत थिए। २०६५ असार १२ मा केन्द्रमा उनी पुनः करार सेवामा नियुक्त भएका थिए, यसटक पद थियो कम्प्युटर इन्जिनियर। २०७५ साउन २० सम्म केन्द्रका विभिन्न पदमा करारमा कार्यरत रहेका उनलाई सरकारले सोही वर्ष साउन २१ मा केन्द्रको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

२०७८ चैत २४ सम्म सोही पदमा कार्यरत र त्यसको भोलिपल्ट नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक पदमा नियुक्त भएका थिए। जागिरमा उनको पदावधि, तलबभत्ता, सेयर खरिदबिक्री आम्दानी, बैंकको ब्याज, बचतलगायतले जम्मा १ करोड १९ लाख २४ हजार ८ सय ४६ रुपैयाँ वैध आय आर्जन गरेको देखिएको आयोगको विज्ञप्तिमा छ।

उक्त अवधिमा उनको जम्मा २४ करोड ९४ लाख ७१ हजार १ सय ७१ रुपैयाँ खर्च तथा लगानी देखिँदा २३ करोड ७५ लाख ४६ हजार ३ सय २४ रुपैया बराबरको खर्च तथा लगानी (सम्पत्ति) को वैधानिक स्रोत खुलेको नदेखिएको आरोपपत्रमा छ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?