खानेकुरामा होस नगरे गर्मीमा परिन्छ बिरामी
वैशाख २८, काठमाडौं । ‘गर्मी मौसम रोग पनि लिएर आउँछ’ भनिन्छ । मौसमले रोग ल्याउने मात्र होइन, अनुकूलको खानपान शैली नअपनाउँदा गम्भीर रोगको सिकार समेत भइन्छ । गर्मी मौसममा शरीरले जाडोयामभन्दा केही फरक खाना खोज्छ । सरसफाइको कमी र जथाभावी खाना, पानीको कारणले विभिन्न प्रकारका रोगको जोखिम बढ्छ ।
गर्मीमा पकाइएको खाद्यवस्तु सुरक्षित राख्न नजान्दा केही घण्टामै अखाद्य हुन्छ । कुहिने, बेस्वाद हुने भएकाले लामो समयका लागि खानेकुरा राख्नु पनि असुरक्षित हुने हुन्छ । तर, होटल, रेस्टुरेन्टतिर अझै पनि बिहान बनाइएका खानेकुरा बेलुकीसम्म राख्ने र खुलामा पसलहरु राख्ने गरिन्छ ।
खुला स्थानका ठेला लगाएर व्यापार गर्ने मानिसको संख्या बढ्ने क्रममा नै छ । खुला चौरलगायत भिडभाड हुने स्थानमा प्राय ठेलामा खानेकुराहरु बेच्न राखिएका हुन्छन् । त्यस्तोमा खानु स्वास्थ्यका हितकर हुँदैन । खानेकुरा अस्वस्थकर भए त्यसैले ठूला रोग पनि ल्याउँछ ।
काठमाडौं उपत्यकामा धेरै बिक्री हुनेमा पर्छ पानीपुरी र चटपटे । जताततै त्यसका पसल र ठेला लाग्छन् । जहाँ पनि खानेको भीड नै लाग्ने गरेको पाइन्छ । विद्यार्थीहरु स्कुल÷कलेज छुट्टी हुने वित्तिकै पनि त्यहीँ पुगेका हुन्छन् भने घुम्न आउने हरेक उमेर समूहका मानिस त्यो पसलमा देखिन्छन् ।
पकाएर बेचिने खानेकुरा पसलेले गुणस्तरीय र स्वस्थकर बेच्छन् भन्ने ग्यारेन्टी छैन । त्यसैले जिब्रोलाई स्वाद दिने पानीपुरी र चटपटे पनि स्वस्थकर हुने ठोकुवा कसैले गर्न सक्दैन । बरु खुला ठाउँमा बेचिने यस्ता खाद्यवस्तुले अस्वस्थ बनाउने जोखिम प्रबल रहन्छ ।
व्यवसायी ताजा र स्वस्थकर नै बिक्री गरिरहेको दाबी गर्न पछि पर्दैनन् । तर, बनाएको धेरै समयपछि बिक्री हुने र खुला ठाउँमा राखिने खाद्यवस्तुका जोखिम उपभोक्ताले आफैं हेक्का राख्नुपर्ने तथ्य हो ।
गर्मीमा बासी सडेगलेका, बढी मसलायुक्त, माछामासु, चिल्लो पिरो जस्ता खाद्यवस्तुबाट सकेसम्म टाढा नै रहनु राम्रो मानिन्छ । गर्मी मौसममा हुने सरुवा रोगहरू केही श्वासप्रश्वास र धेरैजसो पाचन प्रणालीसँग सम्बन्धित हुन्छन् ।
खाद्यवस्तु उत्पादन तथा बिक्री वितरण नियमन गर्न सरकारी निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग छ । केन्द्रिय विभागअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रणका लागि विभिन्न प्रदेशहरुमा गरेर ८ वटा कार्यालयहरु छन् । यसका साथै उक्त कार्यालयअन्तर्गत पनि २२ वटा डिभिजन कार्यालय विभिन्न जिल्लामा छन् ।
तीन तहमा कार्यालयहरु हुने भएकाले देशभर कुल ४३ वटा कार्यालय रहेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए । उनले भने, ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग भनेपछि नेपालभर नै बिक्री वितरण हुने, आयात हुने, खाद्यवस्तुहरुको स्वच्छता र गुणस्तर नियन्त्रण र अनुगमन गर्ने निकाय हो ।’
स्वास्थ खाना मानिसको मौलिक अधिकारभित्र पर्ने भए पनि कतिपय व्यापारी आफ्नो फाइदाका लागि गुणस्तरहीन वस्तुहरु पनि बेच्छन् । खाद्य निरीक्षकहरुले दैनिकी बजार, उद्योगहरु निरीक्षण अनुगमन गर्ने र शंका लागेका खाद्य वस्तुहरु ल्याएर नमूना परीक्षण गर्ने काम गर्दै आएका छन् ।
कुनै वस्तु नेपाल सरकारले तोकेको, सार्वजनिक गरेको मापदण्डअनुसार नभएमा कानुनअनुसार कारबाही गरिएको छ । यसका लागि सरकारले हालै नयाँ ऐन पनि ल्याएको छ । तर ऐन जारी भएको ९१ दिनपछि मात्र लागू हुने व्यवस्था रहेको हुनाले गुणस्तरहीन खाद्य कारोबारीलाई विद्यमान कानुनअनुसार ५० हजारसम्म जरिवाना वा ५ वर्षसम्म कैदको व्यवस्था छ ।
दैनिक बजार अनुगमन गरेर खाद्य स्वच्छता, गुणस्तर कायम गर्न लगाउनु नै विभागको मुख्य काम भएको महर्जन बताउँछन् । उनका अनुसार विभागले हरेक वर्षमा करिब ७ हजार नमूना संकलन, करिब १३ हजार पटक अनुगमन गर्ने गरेको छ । नमूनाहरु न्यून गुणस्तर आएका सबैलाई कारबाही गर्ने गरेको छ ।
उनले भने, ‘हरेक वर्ष, अझ हरेक त्रैमासिकमा कति अनुगमनमा वर्षमा करिब ७ हजार नमुना संकलन हुन्छ । करिब १३ हजार पटक अनुगमन हुन्छ, त्यसमा कति नमुनाहरु न्यून गुणस्तर आएको हुन्छ त्यो सबैलाई कारबाही हुन्छ ।’
यो होटल, रेस्टुरेन्ट जस्ता सेवामूलक संस्थाहरु स्थानीय तहमा नै दर्ता हुने भएको हुनाले त्यहीँबाट अनुगमन गर्ने व्यवस्था भएको उनले बताए ।
खाद्य उद्योगहरुबाट उत्पादन हुने, उद्योगहरुको नियमित लाइसेन्सिङ, अनुगमन, नवीकरण गर्ने कामहरु विभाग अन्तर्गतका कार्यालयहरुले गर्ने गरेका छन् ।
होटलका व्यक्ति अथवा स्ट्रिट फुडहरु खुला स्थानमा राखेको खानेकुराहरुको बारेमा व्यापारीहरुसँग कुरा गर्ने हो भने सबै स्वास्थलाई हेरेर नै राख्ने गरेको र बनाउने गरेको भन्ने गर्छन् ।
तर यो गर्मीयाममा विशेष गरेर दूग्ध पदार्थहरु, पानीहरुमा सूक्ष्म हानिकारक जीवाणुहरुको संक्रमण बढी हुन्छ । यसको साथै चाडै बिग्रिने खानेकुरालाई धेरै समय नराख्ने खालको मापदण्ड बनाउनु आवश्यक छ ।
विभागले पनि यस्तो विषयलाई प्राथमिकतामा राखेर अनुगमन गर्ने गरेको पनि प्रवक्ता महर्जनको भनाइ छ । उनले भने, ‘घुमिफिरी बेच्ने, स्ट्रिट फुडहरु खुला स्थानमा राखेको हुन्छ हाम्रो वातावरण अलि स्वच्छ र गुणस्तर नभएको स्थानमा अलि गाह्रो हुन्छ । अहिले चाहिँ स्थानीय निकायलाई त्यो अनुगमन गर्ने जिम्मेवारी दिएको हो । यस्ता खालका खाद्य वस्तुहरु स्थानीय तहबाट नै अनुगमन गर्ने हुन्छ । त्यो खाना सबै ठिक छ भनेर त भन्न सकिँदैन तर अनुगमनको दायरबभित्र भने सबै प्रकारका खाद्यवस्तु बेच्ने, स्ट्रिट फुडको ठेलादेखि सबै पर्छ ।’
स्थानीय तहबाट पनि युनिटहरु बनाएर अनुगमन हुन्छ र त्यसलाई प्राविधिक सहयोग आवश्यक भएको अवस्थामा विभागबाट समन्वयमा हुने गर्छ ।
वाणिज्य विभाग र अन्य निकायहरुसँग सहकार्यमा कहिलेकाही स्थानीय तहको सरकारसँग गएर पनि अनुगमन गर्छौ । ‘स्थानीय तहबाट सूचना आयो भने महानगरपालिका, नगरपालिकामा पनि गएर अनुगमन गर्ने हुन्छ भने कतैबाट कसैको गुनासो आएको छ भने त्यसलाई बढी प्राथमिकतामा राखेर अनुगमन गर्छौ,’उनले भने ।