कोलकाता नाइट राइडर्स बन्यो आइपिएलमा प्लेआफ पुग्ने पहिलो टोली
वैशाख ३०, काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ। यो सिजन उत्कृष्ट लयमा रहेको कोलकाताले शनिबार राति बर्षाले प्रभावित खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो।
कोलकाताले १२ खेल खेल्दा ९ खेलमा जितका साथ १८ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सको ११ खेलबाट १६ अंक रहेको छ।पराजित भएको मुम्बई भने पहिला नै प्लेअफ होडबाट बाहिर थियो। शनिबार कोलकातामा वर्षाका कारण यो खेल १६–१६ ओभरको खेलाइएको थियो।
घरेलु मैदान इडेन गार्डेन स्टेडियममा टस हारेर ब्याटिङ गरेको कोलकाताले १६ ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो। जवाफमा मुम्बई इन्डियन्सले १६ ओभरमा ८ विकेट गुमाएर १३९ रनमा रोकियो। वरुण चक्रवर्ती प्लेयर अफ दि म्याच भए। उनले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए ।
पहिला ब्याटिङ गर्दा कोलकाताको सुरुआत राम्रो भएन।
ओपनर फिल साल्ट पहिलो ओभरको अन्तिम बलमा व्यक्तिगत ६ रन बनाएर आउट भएका थिए । त्यसपछि दोस्रो ओभरको पहिलो बलमै सुनिल नारायण जसप्रित बुमराहको बलमा बोल्ड भए। दुवै ओपनर आउट भएपछि बेंकटेश अय्यर र कप्तान श्रेयस अय्यरले पारि सम्हाल्न खोजेका थिए तर, पाँचौं ओभरको पहिलो बलमै श्रेयस अय्र ७ रन बनाएर आउट हुँदा कोलकाताले ४० रनको स्कोरमा तेस्रो विकेट गुमाएको थियो।
त्यसपछि बेंकटेश र नितिश राणाले पारि अघि बढाए। ७७ रनको स्कोरमा बेंकटेश २१ बलमा ४२ रनको पारि खेल्दै विदा भए। नितिशले आन्द्रे रसेलसँग मिलेर टिमको स्कोर ११५ प्लस बनाए। ११६ रनको स्कोरमा नितिश रानाले २३ बलमा ३३ रनको पारि खेलेर विदा भएका थिए।
आन्द्रे रसेल छैटौं विकेटको रुपमा टिमको स्कोर १२५ हुँदा आउट भएका थिए। रसेलले १४ बलमा २४ रन जोडे । रिंकु सिंहले १२ बलमा २० रन जोडेर आउट हुँदा कोलकाताको स्कोर ७–१४८ थियो। रमनदीप सिंहले ८ बलमा १७ रन बनाएर नटआउट पारि खेल्दा मिचेल स्टार्कले २ बलमा २ रन बनाए।
मुम्बईका लागि जसप्रित बुमराह र पियुस चावलाले समान दुई–दुई विकेट लिँदा नुवान तुसारा र अन्सुल कमबोजले एक–एक विकेट लिए। १५८ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको मुम्बईले सुरुआत राम्रो गरेको थियो। पहिलो विकेटका लागि इशान किसन र रोहित शर्माले ६५ रन जोडेका थिए।
इशान किसन २२ बलमा ४० रन बनाएर आउट भएका थिए। लगत्तै रोहित शर्मा पनि २४ बलमा १९ रन बनाएर आउट भएपछि मुम्बई दबाबमा आएको थियो। यस्तै, सूर्यकुमार यादव ११ रन बनाएर आउट हुँदा मुम्बईले ८७ रनमा तेस्रो विकेट गुमायो।
टिमको स्कोर ९१ रन पुग्दा कप्तान हार्दिक पाण्ड्या व्यक्तिगत २ रन बनाएर पभेलियन फर्किए। टिम डेभिडले खाता पनि नखोलेपछि ९२ रनमा एमआईको पाँचौं विकेट गुमेको थियो। नमन धिरले ६ बलमा १७ रन बनाउँदा नेहाल बडेहराले ३ रन बनाए भने तिलक बर्मा १७ बलमा ३२ रन बनाएर आउट भए।
मुम्बईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३९ रनमा रोकिन पुग्दा १८ रनले पराजित भयो। कोलकातालाई जित दिलाउन हर्सित राणा, बरुण चक्रवर्ती र आन्द्रे रसेलले समान दुई –दुई विकेट लिए। यस्तै, सुनिल नारायणको नाममा एक विकेट रह्यो।
आइपीएलमा आज २ खेल हुनेछन्। पौने ४ बजे चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स भिड्दा राति पौने ८ बजे रोयल च्यालेन्जर्स बेंग्लुरु र दिल्ली क्यापिटल्स आमने सामने हुने छन्।