कार्यव्यवस्था परामर्श समितिको बैठक जारी
जेठ १, काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सभामुख देवराज घिमिरेको कार्यकक्षमा बैठक जारी छ।
बैठकमा संघीय संसद्को संयुक्त बैठक, सरकारको नीति तथा कार्यक्रम र त्यसपश्चात् बस्ने राष्ट्रिय र प्रतिनिधि सभा बैठकका विषयमा छलफल हुने संसद सचिवालयले जनाएको छ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने माथि संसदीय छानबिन समितिको माग गर्दै आएको छ। कांग्रेसले सरकारले समिति नबनाइएसम्म सदन चल्न नदिने अडान कायम राखेको छ। यद्यपी, कांग्रेसले आजको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने र त्यसपश्चात् कुनै बैठक चल्न नदिने निर्णय गरिसकेको छ।
कार्यव्यवस्था परामर्श समितिको बैठक अघि सभामुख घिमिरेले दलका प्रमुख सचेतकसँग बैठक बसेर सदनको आजको कार्यतालिकाबारे छलफल गरेका थिए। सो बैठकमा घिमिरेले दलहरुबीच समसामयिक विषयमाथि सहमति नजुट्दा संसदीय कामकारबाही प्रभावित हुने देखिएको र त्यसले संवैधानिक संकटको अवस्था सिर्जना गर्नसक्ने धारणा राखेका थिए।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा यी विषयमा पनि छलफल गरिने सचिवालयले जनाएको छ।