कति छ यी तीन उपप्रधानमन्त्रीहरुसँग सम्पति ?
जेठ ८, काठमाडौं । सरकारले मंगलबार सार्वजनिक गरेको मन्त्रिपरिषद् सदस्यहरुको सम्पत्ति विवरणअनुसार तीन उपप्रधानमन्त्रीहरुमध्ये सबैभन्दा कम सम्पति नारायणकाजी श्रेष्ठको देखिएको छ। दुई उपप्रधानमन्त्री रवि लामिछाने र रघुवीर महासेठले चल अचल सम्पति आफ्नोभन्दा श्रीमतीको नाउँमा धेरै रहेको विवरणमा देखाएका छन्।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि लागेका आरोपको सफाइ दिने क्रममा संसदमा प्रतिपक्षी दलमाथि आक्षेप लगाउँदा तातेको राजानीतिक वातावरणलाई विषयान्तर गर्न सरकारले सम्पत्ति विवरण सार्वजनिक गरेको हो।
मन्त्रिपरिषद्का २३ सदस्यमध्ये २१ जनाको विवरण सार्वजनिक भएको छ। जसअनुसार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा नेपाल बैंक लिमिटेडमा एक लाख ५ हजार र ग्लोबल आईएमई बैंकमा ५ हजार रुपैयाँ नगद बचत छ। उनको नाममा भक्तपुरमा १ रोपनी १ आना जग्गा पैतृक सम्पत्तिको रुपमा देखाइएको छ।
लामिछानेको सो बाहेक सम्पत्ति अन्य केही देखाइएको छैन। तर, उनकी पत्नी निकिता पौडेलको नाममा भने बुढानिलकण्ठ–८ मा ५ आना जग्गामा बनेको घर छ। यस्तै, विभिन्न व्यवसाय सञ्चालनबाट आएको रकमबाट ३ करोड ७५ लाख रुपैयाँमा घर खरिद गरेको विवरण देखाइएको छ। उक्त घर किन्दा बैंकबाट लिएको २ करोड ५० लाख रुपैयाँ ऋणमध्ये अब १ करोड ५० लाख तिर्न बाँकी रहेको विवरणमा उल्लेख छ।
लामिछानेले पत्नी निकिता पौडेलसँग ८० तोला सुन र २० केजी चाँदी रहेको खुलाएका छन्। त्यसको स्रोत अधिकांश निकिताका बाबुआमाले दिएको र केही खरिद गरेको उल्लेख गरेका छन्। यस्तै निकितासँग सुनबाहेक १५–२० केजी चाँदी रहेको र त्यो २५० देखि ३०० रुपैयाँ प्रति तोला भएको बेला खरिद गरेको उल्लेख सम्पत्ति विवरणमा उल्लेख छ।
निकिताको नाउँमा गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको १० रोपनी ८ आना जग्गाको २५ प्रतिशत शेयर रहेको र सवारीसाधनमा टाटा नेक्सनको विद्युतीय कार रहेको भनिएको छ। सो कार ४२ लाख रुपैयाँमा दुवैको निजी आय र बचतबाट २०७९ सालमा खरिद गरिएको विवरणमा उल्लेख छ। विवरण अनुसार नारी टेलिभिजन र गोपीकृष्ण कामाक्ष मिडिया कम्पनीको सञ्चालक निकिता छिन् भने दुवैको भौतिक मूल्य ४ करोड भएको उल्लेख छ। नारी टेलिभिजनको हालको मूल्य ३ करोड रुपैयाँ र कामाक्ष मिडियाको हालको मूल्य १ करोड रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
यस्तै अर्का उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पनि सार्वजनिक गरेको विवरणमा पनि अधिकांश सम्पति श्रीमती जुली महतोको नाउँमा रहेको उल्लेख छ।
विवरण अनुसार महासेठको नाममा धनुषामा १ बिघा बढी जग्गा रहेको उल्लेख छ भने महतोको नाममा जनकपुरमा ३ कट्ठा जग्गामा घर, ललितपुरमा २ रोपनी १३ आना जग्गा र घर, धनुषामा ७ बिघा क्षेत्रफल जग्गा, ललितपुरकै अर्को ठाउँमा १ रोपनी ७ आना जग्गा छ।
चल सम्पति विवरणमा ४३ तोला सुन, १।५ किलो चाँदी रहेको उल्लेख छ। यस्तै, २ करोड २५ लाख रुपैयाँ बराबर नगद रहेको पनि मन्त्री महासेठको सम्पत्ति विवरणमा उल्लेख छ। यस्तै विभिन्न कम्पनीमा मन्त्री पत्नी जुलीको नाउँमा ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको विवरणमा छ।
सो बाहेक महासेठले परिवारका सदस्य र सगोलमा रहेको जग्गा पनि विवरणमा खुलाएका छन्। रामविलास महासेठको नाउँमा हालको मिथिला विहारी नगरपालिकामा ३३ बिघा, धनुषाकै सबैला नगरपालिकामा आमाको नाउँमा ३९ बिघा जग्गा रहेको उल्लेख छ। यस्तै सगोलको घर जग्गामा मिथिला बिहारी नगरपालिका–३ मा पनि करिव १० कट्ठा जमिन रहेको विवरणमा खुलाएका छन्। महासेठका अनुसार उनीसँग आफ्नो नाउँमा सवारीसाधन र पशुधन छैन।
यस्तै अर्का उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको नाउँमा घर र पैतृक सम्पत्ती नभएको विवरणमा छ। राष्ट्रिय वाणिज्य बैंकको खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको मन्त्री श्रेष्ठले खुलाएका छन्। सुनचाँदी, शेयर वा धितोपत्र श्रेष्ठको नभएको सम्पत्ति विवरणमा उल्लेख छ।
सम्पतिको नाउँमा गोरखाको सिरानचोक गाउँपालिका–८ मा उनको नाममा ३ कित्ता जग्गा छ। सोमध्ये एउटा कित्ता ३१ रोपनी १५ आना छ। दोस्रो ५ रोपनी ७ आना र तेस्रो कित्ता १ रोपनी १० आना रहेको देखाइएको छ। त्यसलाई उनले पैतृक भनेका छन् र २०५८ सालमा पार्टीलाई दिएको घोषणा गरेको र हाल प्रक्रियामा रहेको विवरणमा उल्लेख छ।
मन्त्री श्रेष्ठसँग बा१०च ५७९८ नम्बरको महिन्द्रा गाडी छ। उक्त गाडी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रयोग गर्न दिएको श्रेष्ठले सम्पत्ति विवरणमा राखेका छन्।