प्रधानमन्त्री पुष्पकमल दाहालको सम्पत्ति कति बढ्यो ?


जेठ ८, काठमाडौं । सरकारले मन्त्रिपरिषद् सदस्यहरुको सम्पत्ति विवरण सोमबार सार्वजनिक गरेको छ। विवरणमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो १५ कट्ठा जग्गा, ५ तोला सुन र २५ लाख बैंक मौज्दात रहेको उल्लेख गरेका छन्।

सार्वजनिक सम्पति विवरणअनुसार प्रधानमन्त्री दाहालसँग प्रतिनिधिसभा सदस्यको हैसियतमा प्राप्त भएको २५ लाख रुपैयाँ नगद एभरेष्ट बैंकमा मौज्दात रहेको उल्लेख छ । भरतपुर महानगरपालिका–१४ मा १४ कट्ठा पार्किङ जग्गासहित घर छ। सो घरजग्गा स्वर्गीय पत्नी सीता दहालकको नाममा छ। उक्त घर र जग्गा पैतृक सम्पत्ति भएको विवरणमा उल्लेख छ।

यस्तै, प्रधानमन्त्रीसँग ५ तोला सुन छ। त्यो सुन पनि पैतृक सम्पति भएको विवरणमा छ। तर, २०७३ सालमा प्रधानमन्त्री हुँदा दाहालले बुझाएको सम्पत्ति विवरण र अहिले सार्वजनिक विवरणमा उनको पैतृक सम्पति बढेको देखिएको छ। २०७३ सालमा एक कठ्ठा पैतृक सम्पत्ति र ३ तोला सुन देखाएका दाहालले अहिले प्रधामनन्त्री थप १४ कठ्ठा जमिन सम्पत्तिका रुपमा देखाएका छन्। तर, यसलाई पनि पैतृक सम्पत्तिकै रुपमा उल्लेख गरेका छन्।

२०७३ मा ३ तोला मात्रै पैतृक सुन रहेको विवरण बुझाएका दाहालको सुन पनि दुई तोला बढेको देखिएको छ । हाल उनको सुन पाँच तोला रहेको र सो सुनलाई पनि दाहालले पैतृक नै भएको उल्लेख गरेका छन्।

यस्तै, भरतपुर महानगरपालिका–१२ मा स्वर्गीय पत्नी सीता दाहालको नाममा १ कट्ठा जमिन रहेको र त्यो अंशबाट प्राप्त भएको उल्लेख छ भने उनको नाममा कुनै पनि पशु धन, ऋण र सवारी साधन छैन।

बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेसँगै आज उनीसँगै २२ मध्ये २० मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको हो।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?