बजेटमा ओलीको प्रश्न : ‘यो अर्थमन्त्रीको बजेट हो कि गठबन्धनको ?’
जेठ, १९, काठमाडौं । गठबन्धन सरकारका तर्फबाट आएको नयाँ बजेटले सहकार्य संस्कृतिको प्रतिनिधित्व नगरेको भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन्।
एमाले संसदीय दलको बैठकमा सांसदहरुलाई प्रशिक्षण दिँदै गठबन्धन दलका मुख्य नेता ओलीले बजेट अर्थमन्त्रीका तर्फबाट मात्र आएको जस्तो देखिएको भनेर टिप्पणी पनि गरेका छन्। ओलीले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री र उनको दलको जस्तो बनेको भनेर टिप्पणी गर्दै सरकारमा सहभागी दलसँग परामर्श गरेर बजेट ल्याएको भए राम्रो हुने थियो भनेका छन्।
ओलीको बजेट प्रतिक्रिया थियो— ‘यो बजेट सरकारमा सहभागी दलहरुसँग परामर्श गरेर आएको भए धेरै राम्रो बजेट हुन सक्थ्यो। छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको बजेट हो कि जस्तो देखिन गएको छ । रकमको बाँडफाँड पनि त्यस्तै गरेर अलि बढी एकातिर ढल्किएको जस्तो देखिन्छ।’
ओलीले यसरी एकतर्फी रुपमा आएको बजेटमा गम्भीर त्रुटि रहेको भन्दै संसदमा खुलस्त छलफल गर्न सांसदहरुलाई निर्देशन दिए। सांसदहरुले आफ्नो क्षेत्रमा बजेटको अवस्था के छ, कटौती भएको छ र अन्य क्षेत्रमा गएको छ भने कुरा उठाउन सक्ने उनको सुझाव थियो।
अध्यक्ष ओलीले भने— ‘हामी बजेटलाई समर्थन गर्छौं र पारित पनि गर्छौं । तर यसको अर्थ बजेटमा रहेको कुनै पनि कमी औंल्याउनुहुँदैन भन्ने होइन।’ ओलीले गठबन्धन भनेपछि सरकारले यसको मर्म र भावनालाई बिर्सन नहुने भन्दै सहकार्यमा एकलौटी चल्न नसक्ने धारणा व्यक्त गरेका थिए।