संविधान दिवसमा ‘ह्रस्व दीर्घ’
जेठ १९, काठमाडौं । अभिनेत्री नीता ढुंगानाले निर्माण गरेको फिल्म ‘ह्रस्व दीर्घ’ संविधान दिवसको दिन अर्थात असोज ३ गते रिलिज हुने भएको छ। यसअघि यो फिल्मले असोज ११ लाई रिलिज मिती तोकेको थियो।
निर्मात्री नीताले वितरण कम्पनी र निर्माण टिमको सल्लाहमा फिल्मको रिलिज हेरफेर गरिएको बताइन्। ‘हाम्रो फिल्म कुन मितिमा ल्याउने विषयमा हामी गम्भीर छौं। त्यसकारण असोज ३ प्रदर्शनको लागि उपयुक्त दिन ठानेर उक्त मिती रोजिएको हो,’ नीताले भनिन् । फिल्मको यति बेला धमाधम डबिङको काम भइहेको छ। फिल्मको डबिङका लागि अभिनेत्री विपना थापा नेपालमा छिन्।
चन्द्र पन्त निर्देशित फिल्ममा नीतासँगै, हरिहर अधिकारी, दक्षिण भारतीय कलाकार व्रह्मानन्दम, बलिउड कलाकार प्रदीप रावतसँगै विपना थापा, गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाललगायतको अभिनय छ।
सोसल ड्रामासहितको प्रेम कथामा आधारित फिल्म भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा छायांकन गरिएको छ। अभिनेता हरिरहर अधिकारीको कथा रहेको फिल्ममा बलिउडका स्थापित छायाँकार कविर लालको छायांकन छ।
नीता फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा मित्रडि गुरुङको सम्पादन, धनञ्जय घलानीको कास्टिङ, रामजी लामिछाने र बलिउड कोरियोग्राफर शुष्मा सुमनको कोरियोग्राफी छ।