‘लण्डन टु पेरिस’ प्रिमियर ‘शो’ मा कसले के भने ?
जेठ २५, काठमाडौं । आज शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘लण्डन टु पेरिस’को बिहीबार साँझ काठमाडौंमा ग्राण्ड प्रिमियर गरिएको छ। प्रिमियरपछि फिल्म कर्मीले फिल्मको कथावस्तु मन पराएको प्रतिक्रिया दिएका छन्।
निर्देशक शोभित बस्नेतले ठूलो बजेटमा विदेशमा पनि राम्रो नेपाली फिल्म बनाउन सकिन्छ भन्ने उदाहरण ‘लण्डन टु पेरिस’ले दिएको बताए । ‘विदेशमा बसेर पनि त्यहाँका नेपालीको नेपालप्रति लगाव छ भन्ने कुरा फिल्मले देखाएको छ’, उनले भने, ‘मलाई फिल्म राम्रो लाग्यो । विदेशी भूमिमा बनाइएका धेरै नेपाली फिल्म चल्न सकेका छैनन् । तर यो फिल्मले राम्रो चल्ने सम्भावना देखाएको छ ।’
फिल्मका लेखक प्रदीप भारद्वाजले लेखकका रुपमा लेखेका कुरा प्राविधिक रुपमा केही तलमाथि भएपनि फिल्म राम्रो बनेको बताए । ‘फिल्म हेरिरहँदा यस्तो अथवा उस्तो हुनुपर्ने भन्ने कुरा आइहाल्छ । तर यो फिल्म विदेशमा भएर सफल जीवन बिताइरहेका नेपालीको कथा भएकाले सबैलाई छुन्छ भन्नेमा विश्वस्त छु’, उनले भने।
निर्देशक घनश्याम लामिछानेले एउटा राम्रो प्रेम कथालाई फिल्ममा आफूले भनेको बताए । उनले फिल्म विदेशमा खिचिए पनि त्यो नेपालीकै कथा भएको बताए । यो फिल्मबाट अभिनेताका रुपमा डेब्यू गरेका निश्चल खड्काले सानैदेखि आफूलाई हिरोका रुपमा पर्दामा हेर्न चाहेको कुरा अहिले आएर पुरा भएको बताए । ‘आफूलाई पर्दामा देख्दा भावुक पनि भएँ । फिल्म हेर्नु हुनेले राम्रो भनी प्रतिक्रिया दिइरहनुभएको छ’, उनले भने।
फिल्मका अर्का अभिनेता कवीर खड्काले आफूले कलाकार भन्दा पनि दर्शकका रुपमा फिल्म हेरेकाले ‘इन्जोय’ गरेको बताए । ‘गौरव, अपिल, दीपा जस्ता जुन क्यारेक्टर छन्, उनीहरु पूर्ण रुपमा चरित्रमा भिजेका छन्। मैले आफूले गर्न सक्ने सबै काम गरेको छु’, उनले भने।
फिल्मकी ‘डेब्यू’अभिनेत्री गरिमा शर्माले सानो पर्दामा दर्शकको माया पाए जसरी ठूलो पर्दामा पनि त्यसरी नै मायापाउने आशाव्यक्त गरिन्। ‘आफूले दिन सक्ने सतप्रतिशत काम दिने प्रयास गरेको छु । नयाँ छु, सिक्दै जानेछु, आगामी दिनमा अझ सुधार्ने प्रयास गर्नेछु’, उनले भनिन् ।
घनश्याम लामिछाने निर्देशित फिल्मले ट्राभल लभ स्टोरीको कथा पेस गर्छ। फिल्मको कथा, पटकथार संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्ममा साम्राज्ञीराज्य लक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा, कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोक विक्रम मल्लको प्रमुख अभिनय रहेको छ।