ऋतिकसँगको प्रेमले बेरोजगार सबा आजाद
जेठ ३२, मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन र उनकी प्रेमिका सबा आजाद बलिउडमा रुचाइएका जोडी हुन्। उनीहरु पछिल्लो समयमा सम्बन्धमा छन। उनीहरुले एक-अर्काप्रति प्रेम दर्शाउन कुनै कसर बाँकी राखेका छैनन्।
सबा पेशाले भ्वाइस ओभरको काम गर्छिन्। उनले हालैमात्र इन्स्टाग्राममा एक रेकर्डिङ स्टुडियोमा रहेको आफ्नो तस्वीर साझा गर्दै ऋतिकसँग दुई वर्ष डेटमा रहँदा बेरोजगार बनेको खुलासा गरेकी छन्।
‘आफ्नो काममा फर्किएँ। दुई वर्ष बढी समयपछि वीओ रेकर्ड गरिरहेकी छु’, उनले लेखेकी छन्। इन्स्टामा सबाले दुई वर्ष आफू कसरी बेरोजगार भएँ भन्ने कुरा पनि उल्लेख गरेकी छन्।
‘म दुई वर्ष बढी समयदेखि भ्वाइस ओभर कलाकार हुँ। मैंले आफूले छानेका तीन करियरमा यो करियर पनि एउटा हो। यो करियर आर्थिक रुपले मेरा लागि सफल रहयो। म एक निर्देशकको नियमित भ्वाइस ओभर गर्थें। एकदिन मंैले ‘मलाई किन काम नदिएको ?’ भनेर सोध्दा उहाँको उत्तर सुनेर म छक्क परें। उहाँले ‘तिमी एक सफल अभिनेतासँग डेटमा रहेका कारण भ्वाइस ओभरको काम छोड्यौ होला भनेर नबोलाएको’ जवाफ दिनुभयो’, सबाले लेखेकी छन्।
उनले अगाडि लेखेकी छन्, ‘के हामी अहिले पनि त्यो अन्धकार युगमा बाँचिरहेका छौं, जहाँ हामी मान्छौं कि एक सफल साथीसँग सम्बन्धमा एक महिलालाई आफ्नो भोजनको व्यवस्था गर्नुपर्दैन ? या उसलाई आफ्नो भाडा र बिल तिर्नुपर्दैन ? या उसलाई आफ्नो काममा गर्व हुँदैन। र उसलाई आफ्नो र आफ्नो परिवारको ख्याल राख्नुपर्दैन ? यो दुःखद रुपमा पितृसत्तात्मक मानसिकता हो।’