टाउका जोडेर र अंकमाल गरेर मात्र नेतृत्व चयन हुँदैन : झलनाथ खनाल
असार ५, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले टाउका जोडेर र अंकमाल गरेर मात्र नेतृत्व चयन गर्न नसकिने बताएका छन्।
सोमबार काठमाडौंमा आयोजित अनेमसंघ समाजवादीको मुखपत्र विमोचन कार्यक्रममा उनले भने,‘सहमति केका आधारमा हुन्छ ? टाउका जोडेर कि अंकमाल गरेर ? महाधिवेशनमा वैचारिक कार्यदिशा, नीति र सिद्धान्तमा आधारित भए सहमतिको आधारमा मात्र नेतृत्व चयन सकिन्छ।’
‘ महाधिवेशनबाट चारवटा दस्तावेज पास गर्नेछौं । दस्तावेजमा छलफल भइरहेको छ। सुझाव आइरहेका छन्। अहिलेका मस्यौदा दस्तावेजलाई अझैं परिस्कृत गरेर पारित गर्छौं। सहमतिको साथ नेतृत्व निर्माण गर्नुपर्छ। तर सहमति भनेको के ? सहमति केका आधारमा हुन्छ ? हामीले टाउका जोडेर हुन्छ कि ? अंकमाल गरौं कमरेडहरू भनेर हुन्छ कि ? के ले एकता गर्छ ? हामी जुटेको भनेकै एउटा वैचारिक राजनीतिक कार्यदिशा, आधारमा नीति, सिद्धान्त र लक्ष्यका आधारमा हो।’
उनले संविधान निर्माणको प्रक्रिया पार गरेपछि प्रक्रियालाई अगाडि बढाउने सिलसिलामा समाजवादी कार्यक्रम अगाडि सार्न नसकेको बताए। कम्युनिष्ट आन्दोलनले नै समाजवादी कार्यक्रम अगाडि सार्न नसकेको समाजवादी कार्यक्रम लामो समयपछि पार्टीको महाभिवेशनबाट अगाडि सार्न लागेको उनको भनाई छ।