विद्यार्थीले किन राजनीति गर्नुपर्छ ?
-कपिल सी
‘विद्यालयहरू राजनीतिबाट बाह्र हात टाढा रहनुपर्छ भन्ने कुरा बुर्जुवा पाखण्ड हो । यो सिद्धान्तको वकालत गर्ने बुर्जुवाहरू नै शैक्षिक प्रणालीलाई बुर्जुवा राजनीतिको आधार बनाएर विद्यालयलाई आफ्ना आज्ञाकारी र योग्य नोकर प्रशिक्षित गर्ने केन्द्रको रुपमा खुम्च्याउन चाहन्छन् । यहाँसम्म कि शिक्षाको विश्वव्यापी मान्यतालाई शीरदेखि पाउसम्मै बुर्जुवाहरूको आज्ञाकारी र योग्य नोकर प्रशिक्षित गर्ने तथा पुँजीको सेवा गर्ने दास निर्माणको केन्द्रमा झार्न चाहन्छन् । उनीहरू विद्यालयलाई साच्चै विद्यार्थीको व्यक्तित्व निर्माण गर्ने स्थलका रुपमा स्वीकार गर्दैनन् ।’ -लेनिन
यो कुरा लेनिनले सन् १९५४ अघि नै भन्नुभएको थियो । आज सन् २०२४ भयो । उसरी लेनिनले यो भनाइ व्यक्त गर्नुभएको ७० वर्षभन्दा बढी समय भयो । सायद त्यसबेला पनि विद्यार्थीले राजनीति गर्न नहुने बहस भइरहेको हुँदो हो । लेनिनको उपरोक्त भनाइबाट त्यस्ता बहस किन बेतुकका छन् भन्नेबारे त्यसबेलै प्रष्ट भइसकेको हामी पाउँछौँ । तर यो देशमा आज पनि स्कुल र विद्यार्थीहरूलाई राजनीतिबाट टाढा राख्ने षड्यन्त्र भइरहेका छन् । यतिसम्म कि शैक्षिक संस्थाहरू शान्ति क्षेत्र भएकोले त्यहाँ राजनीति गर्नुहुँदैन भनिन्छ, मानौँ राजनीति अशान्तिको विषय हो । अझ राजनीतिले पढाइसँगै विद्यार्थीको भविष्य बिगार्ने तर्कहरू पनि अलिकति मात्रै सुनिँदैन । झन् अझ धेरैजसो विद्यार्थी स्वयंले पनि राजनीतिलाई घृणाको विषय बनाइरहेको पाइन्छ । यी सबै कुराहरू बीच विद्यार्थीले राजनीति किन गर्नुपर्छ ?
१. व्यक्तित्व विकासको लागि विद्यार्थीले राजनीति गर्नुपर्छ ।
शैक्षिक क्षेत्रहरूलाई बुर्जुवाहरूले भनेकै जसरी कुनै संघसंस्थामा जागिर खाने आधार निर्माणको थलो मात्रै मान्ने हो भने पनि विद्यार्थीले राजनीति सिक्नु आवश्यक छ । राजनीति वडा अध्यक्ष, मेयर, सांसद वा मन्त्री हुन मात्र होइन, संस्था र संगठन संचालनको लागि पनि उत्तिकै आवश्यक विषय हो । सरमा पनि हेडसर हुन । क्याम्पस चीफ, म्यानेजर, सिइओ, डाइरेक्टर आदि हुन विद्यार्थीमा राजनीतिक चेतना जरुरी छ । राजनीतिक चेतनाले नै व्यक्तिमा संगठन संचालनको क्षमता, निर्णय लिने क्षमता, व्यक्तिबीच सञ्चार गर्ने क्षमता र जोखिम मोल्ने क्षमता लगायत व्यक्तित्व निर्माणमा आवश्यक गुणहरूको विकास गराउछ । र यसरी परिपक्व व्यक्तिद्वारा संचालित कुनै पनि संस्था वा संगठनले उच्च र प्रभावकारी कार्यसम्पादनको क्षमता राख्छ ।
राजनीति सम्पूर्ण नीतिको मूल नीति हो । पढ्दापढ्दैको राजनीतिले विद्यालयलाई शैक्षिक वातावरण निर्माणमा हाम्रो भूमिकाबारे पनि सचेत र जागरुक बनाउँछ । विडम्बना, हामी पढ्न आउँदै गर्दा पूर्ण शैक्षिक वातावरणमा पढ्न पाइरहेका हुँदैनौँ । लाइब्रेरीको समस्या, खानेपानी, गुणस्तरीय क्यान्टिन, सफा शौचालय, आवश्यक खेलकुद सामाग्रीको अभाव लगायत शिक्षकहरूको समस्या जस्तै: सर नै स्कुल नआइदिने, सबै विषयहरू पढाइ नहुने, सरले पढाएको नबुझिने, खेताला शिक्षक, अनुशासनहीन शिक्षक लगायत समस्याहरू प्रायः विद्यार्थीहरूले विद्यालयमै भोग्नुपर्छ । यो हाम्रो व्यक्तित्व विकासमा बाधा पुर्याउने कुरा हो । यो अवस्थाको विरुद्ध सम्बन्धित ठाउँमा बोल्न, माग राख्न र मागको सम्बोधन गराउन विद्यार्थीहरू एकताबद्ध, संगठित र नेता हुनुपर्छ । जुन कुरा राजनीति बिना सम्भव हुँदैन ।
विद्यालय हामीले सिक्ने ठाउँ हो । यहाँ हरेक कुराहरू विद्यार्थीले सिक्न पाउनुपर्छ । राजनीति पनि सिक्न पाउनुपर्छ । राजनीति सिक्ने कुरा विद्यार्थीको व्यक्तित्व विकाससँग सम्बन्धित कुरा नै हो । विद्यार्थीले सानैबाट राजनीति सिकेर भोलि असल नेता बन्ने अवस्था आउँदा विद्यार्थीको पढाइ र भविष्य बिग्रिने कुरा छाडौँ, झन् उसले देश र जनताको सुन्दर जीवनको प्रत्याभूति दिनसक्ने अवस्था बन्छ ।
२. षड्यन्त्र चिर्नको लागि विद्यार्थीले राजनीति गर्नुपर्छ ।
सर्वहारा वर्गका महान नेता लेनिनले ७० वर्षअघि भनेझैँ बुर्जावहरू विद्यार्थीलाई आफ्नो आज्ञाकारी र योग्य कारिन्दा मात्रै बनाउन चाहन्छन् । त्यसका लागि पाप, धर्म, रैती नैतिकता, अन्धविश्वास, कोरा भावना र केबल घोकन्ते प्रणालीमा आधारित पाठ्यक्रम पढाएर विद्यार्थीलाई विवश गराइन्छ । पढिरहँदा धेरैजसोले भोलि जागिर खानेबाहेकका अन्य सपना देख्न सक्ने स्थिति नै छैन । अब विद्यार्थीले यो अवस्था स्वीकार गर्नु हुँदैन । जरुर, कसैकसैले जागिर पनि गर्नुपर्छ । तर सारा विद्यार्थीसँग जागिरबाहेक अरु विकल्प नहुनु आजको युग सुहाउँदो कुरा होइन ।
दुनियाँ उहिले नै चन्द्रमामा पुगिसक्यो । विभिन्न कोणबाट मंगल ग्रहको अनुसन्धान हुँदैछ । तर हाम्रो शिक्षा प्रणालीले केबल जीवन निर्वाहको लागि भौतारिनुपर्ने स्थिति अझै तोड्न सकेन । हामीले पढेर भोलि जागिर खाने भनेको घर व्यवहार चलाउन मात्र हो । घर व्यवहार त मानवजातिले लाखौँ वर्षदेखि चलाउँदै आएको छ । आजका विद्यार्थीको अभिभारा दुनियाँको उन्नतिका लागि अध्ययन गर्नु, अनुसन्धान गर्नु र वैज्ञानिक आविष्कार गर्नु हो । तर हाम्रो शिक्षा प्रणालीले त्यो अवसर प्रदान गर्दैन । अवश्य पनि यो चित्रण निराशाजनक छ तर वास्तविकता पनि यही हो ।
अरु कुनै विकल्प नभएर हाम्रो शिक्षा प्रणाली यति पछौटे र निकम्मा भएको होइन । पुँजीका मालिकहरू विद्यालयबाट आज्ञाकारी र योग्य कामदार उत्पादन गर्न चाहन्छन् । यो अवस्था बुर्जुवाहरूको तुच्छ चाहनाको उपज हो । उनीहरू विद्यार्थीले केही नयाँ सिक्ने स्थिति रोक्न चाहन्छन् र विद्यालयमा राजनीतिको विरोध गर्दछन् । तर त्यो झन् ठूलो षड्यन्त्रमूलक राजनीति हो । उज्ज्वल भविष्यको आशमा विद्यालय प्रवेश गरेका सारा विद्यार्थीलाई आफ्नो स्वार्थअनुकूल मात्र हुनेगरी खुम्च्याउनु सानोतिनो राजनीति होइन । त्यसैले यो आपराधिक राजनीतिविरुद्ध एकचोटि सारा विद्यार्थीले राजनीति बुझ्नुपर्छ र गर्नुपर्छ ताकि हाम्रो राजनीतिले सबै खुराफाती राजनीतिको अन्त्य गरेर सही राजनीतिको विजारोपण गरोस् अनि पढेर जागिर खोज्दै भौतारिन विवश पार्ने शिक्षा होइन बरु अध्ययन, अनुसन्धान, उत्पादन र आविष्कारमा आधारित वैज्ञानिक र व्यवहारिक शिक्षा प्राप्त गर्ने वातावरण बनोस् ।
३. अधिकारको लागि विद्यार्थीले राजनीति गर्नुपर्छ ।
अनुभवहरूबाट हामी प्रष्ट छौँ, विद्यार्थीलाई राजनीतिबाट कटाउन चाहने निकायहरूले विद्यार्थीका अधिकारहरू सुनिश्चित गर्न सक्दैनन् । देशको अवस्थाले विद्यार्थीले पढिसकेपछि सजिलै जागिर पाउने अवस्था छैन । हाम्रा धेरै दाजुदिदीले पढाइ सकेर निराश हुँदै विदेश जानू परेको हामीले देखेका छौँ । भोलि हामीले पढिसक्दा त्यसरी विदेश जान नपोस् भन्नको लागि, हामीले आफ्नो महत्वपूर्ण समय, ऊर्जा, र लगानी खर्चेर पढिसकेपछि सिकेका कुराहरू आफ्नै देशको हितमा लगाउन पाइयोस् भन्नका लागि हामी स्वयंले नै सोच्नुपर्ने छ । विद्यार्थीलाई राजनीति गर्नबाट रोक्न खोज्ने शैक्षिक संस्थाहरू, व्यवस्थापन समिति लगायत हामीले विश्वास गरेर, चुनाव जिताएर पठाएका मान्छेले संचालन गरिरहेका कुनै पनि सरकारहरू जस्तैः स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार कतैबाट पनि हामीले भोलि सहजै जागिर पाउने वातावरण निर्माणका लागि काम भइरहेको छैन ।
अनि हाम्रो देशको संविधानमा शिक्षालाई मौलिक हक भनिएको छ । तर व्यवहारमा शिक्षालाई यति महंगो बनाइएको छ कि हामीलाई पढ्नुपर्ने समयमा पनि विभिन्न शैक्षिक शुल्कहरू सम्झेर तनाव हुन्छ । एकतिर देशको अवस्थाले हाम्रो घरको आर्थिक अवस्था कमजोर हुने, जसले गर्दा हामीलाई सामान्य कापीकलम किन्न पनि धौधौ पर्ने । फेरि के-के के-के शैक्षिक शुल्क ? उफ् ! कति गाह्रो बनाइएको छ त पढ्न ? तर वास्तवमा विद्यार्थी देशको मेरुदण्ड हो । देशको विकास र समृद्धिको लागि राज्यले विद्यार्थीमा प्रचुर लगानी लगाउनु जरुरी हुन्छ । विभिन्न विकसित देशको उदाहरण हेर्दा ती देशले विकास र समृद्धिका लागि शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकता दिएको पाइन्छ । किनभने देशको लागि आवश्यक जनशक्ति जस्तै: वकिल, डाक्टर, शिक्षक, प्राध्यापक, इन्जिनियर, पाइलट, वैज्ञानिक सबैसबै शैक्षिक क्षेत्रले उत्पादन गर्ने हो । तर उल्टो, हाम्रो देशमा राजतन्त्रकै पालाको जसरी नेताहरूको सेवासुविधा र उपचारका लागि सबैतिर चर्को कर असुल भइरहेको छ । कतिसम्म भने शैक्षिक क्षेत्रलाई पनि नि: शूल्क रहन दिइएको छैन ।
यसै कारणले शैक्षिक प्रणाली निकै महंगो बनेको छ । अहिले हामीसँगै पढेर देशको सेवाका लागि तयार हुनुपर्ने हाम्रा थुप्रै साथीहरूले पैसाको अभावमा पढ्न पाएका छैनन् । संविधानले व्यवस्था गरेबमोजिम शिक्षालाई व्यवहारमा पनि मौलिक हक बनाउने र हाम्रा सबै साथीहरूले पढ्न पाउने अनि पढिसकेपछि आफ्नो ज्ञानसीप यही देशको प्रगतिमा लगाउने वातावरण निर्माण गर्न राजनीति जरुरी छ । किनभने अहिलेकै अवस्थामा हामीले पाठ्यपुस्तक पढेर मात्रै हाम्रो अधिकार सुनिश्चित हुने देखिँदैन ।
४. जिम्मेवारी निर्वाहको लागि विद्यार्थीले राजनीति गर्नुपर्छ ।
परिस्थितिले विद्यार्थीको अगाडि ठूलो जिम्मेवारी सुम्पेको छ । हाम्रो देश आज विश्वमानचित्रमा गरिबीको रेखामुनि छ । त्यस्तै देश, जनता र विद्यार्थीले भोग्नु परेका जति पनि समस्याहरू छन् जस्तैः महंगी, भ्रष्टाचार, बेरोजगारी, निराशा, युवा पलायन, वैदेशिक हस्तक्षेप यी सबै कुरा खराब राजनीतिले पैदा गरेको हो । हामी यी समस्याहरूबाट मुक्ति चाहन्छौँ । त्यसैले हाम्रो राजनीति सही बनाउनु जरुरी छ । राजनीतिलाई सही बनाउने अभिभारा विद्यालय र विद्यार्थीलाई राजनीतिबाट टाढा राखेर पूरा हुन सक्दैन ।
माथि छलफलमा डाक्टर, पाइलट, वकिल, शिक्षक, वैज्ञानिकहरू विद्यार्थीबाट आउने कुरा भयो, त्यसरी नै राजनेता पनि विद्यार्थीबाटै आउने हो । पहिला जस्तो अहिले कोही पनि सिधै खेत र कलकारखानामा पुग्दैन । भोलि किसान र मजदुर हुने मान्छे पनि आज स्कुलमै छ । अचेल माध्यमिक तहसम्म त लगभग सबैले पढ्छन् । त्यसैले अहिले देशको राजनीतिमा रहेको भ्रष्ट, दलाल र पतित वर्गलाई विस्थापित गर्न योग्य नेताहरू विद्यार्थीले नै दिनुपर्छ । संक्षिप्तमा भन्दा गलत राजनीति र खराब नेताहरूको चंगुलबाट देशलाई सही राजनीति र असल नेताहरूको मातहतमा ल्याउन सही राजनीतिक व्यवस्था स्थापनाको लागि संघर्ष गर्नु र असल नेता बन्नको लागि अनवरत मेहनत गर्नु विद्यार्थीको जिम्मेवारी हो ।
इतिहासमा विद्यार्थी राजनीतिले यस्तै जिम्मेवारीहरू बहन गर्दै आएको छ । विगतमा राजनीतिक निरङ्कुशता फाल्न विद्यार्थीले ठूलो संघर्ष र बलिदान गरेका छन् । राणा शासन विरुद्ध विद्यार्थीको संघर्ष, पञ्चायत विरुद्ध विद्यार्थीको संघर्ष, राजतन्त्र र अरु पनि थुप्रै-थुप्रै राजनीतिक समस्या विरुद्ध विद्यार्थीले जीवनमरणको संघर्ष गरेका थिए । र उक्त संघर्षमा महान सहिदहरू गंगालाल श्रेष्ठ, चिनियाकाजी, मित्रमणी पौडेल, दिलबहादुर रम्तेल, वेनोज अधिकारी, प्रजोल शाही लगायत हजारौं विद्यार्थीहरूले आफ्नो प्राणको आहुति दिनुभयो । अनि एकताका विद्यार्थी नेताहरू नै अहिले देशको राजनीतिको महत्वपूर्ण ठाउँमा छन् । यो विद्यार्थी राजनीतिको जरुर गर्व गर्न लायक पाटो हो तर यो अपूर्ण छ । यो अपूर्णता मेट्ने जिम्मेवारीबाट आजको विद्यार्थी भाग्न सक्दैन । यो उसको ऐतिहासिक स्थान हो । विद्यार्थी स्थानका हिसाबले केही नयाँ सिक्ने र केही नयाँ गर्ने ठाउँमा छ । अनि उमेरका हिसाबले विद्यार्थी प्रगतिशील, सिर्जनशील र ऊर्जाशील छ । यिनै गुणहरूले विद्यार्थीको विगत, वर्तमान र भविष्य राजनीतिको केन्द्र हो । उसलाई कसैले राजनीतिबाट अलग गर्न सक्दैन ।
अन्त्यमा, अहिले सबैतिर राजनीतिको नाममा अराजकता, षड्यन्त्र, गुण्डागर्दी, दलाली र भ्रष्टाचार व्याप्त छ । त्यसैकारण धेरैलाई राजनीतिप्रति वितृष्णा छ । राजनीति गर्ने भनेको नचाहिदो माग राख्ने, षड्यन्त्र, गुण्डागर्दी, दलाली र भ्रष्टाचार गर्ने, अनावश्यक हडताल गर्ने, तालाबन्दी गर्ने र समस्या बन्ने कुरा होइन । इतिहासमा विद्यार्थी नेतृत्वले हरेक राजनीतिक संकट विरुद्ध गरेको संघर्ष र उच्च बलिदान सम्झेर अहिलेको राजनीतिक संकट चिर्न र राम्रो काम गर्न विद्यार्थीले राजनीति गर्नुपर्छ ।
विद्यार्थी राजनीतिले विद्यालय, व्यवस्थापन, पढाइ र भविष्य पटक्कै बिग्रिदैन । आजको शैक्षिक क्षेत्रमा देखिएको समस्या विद्यार्थीको राजनीतिले पैदा भएको होइन, सबैतिरको अराजनीतिले सिर्जना भएको हो । त्यसैले राजनीतिलाई राजनीति जस्तो बनाइनुपर्छ । राजनीतिलाई राजनीति जस्तो बनाउन स्थान र उमेरको विशेषताले विद्यार्थीले राजनीति गर्नु जरुरी छ । अत: व्यक्तित्व विकासमा ध्यान दिँदै, बुर्जुवा षड्यन्त्र चिर्दै, आफ्नो संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै, इतिहासले सुम्पेको जिम्मेवारी पूरा गर्न विद्यार्थीले विद्यालयमा राजनीति सिक्न र राजनीति गर्न आवश्यक छ ।
[लेखक अखिल (समाजवादी) केन्द्रीय समितिका सचिव हुन् ।]