हामीलाई सरकारबाट हटाउन सजिलो छैन : प्रधानमन्त्री दाहाल
असार ८, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेतृत्वको दल माओवादी केन्द्रलाई सरकारबाट हटाउन सजिलो नभएको बताएका छन्। काठमाडौंमा शनिबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले सरकार पुरा अवधि चलाउने दाबी गरे।
उनले भने, ‘म प्रधानमन्त्री पदमा धेरै दिन बस्दैन होला भन्ने धेरै हल्लाहरु सुनिएको थियो, यो भन्दा–भन्दै आज डेढ वर्ष भइसकेको छ, म बसिरहेकै छु। मैले जे अवस्थाहरु देखेको छु, तरिका मिल्यो भने पूरै अवधि बसिन्छ। ढुक्क भएर काम गरे हुन्छ। हामीलाई हटाउन सजिलो छैन। हामीले गरेका समझदारीहरु इमानदार भएर निभाएका छौँ। त्यसकारण आज केही हुन्छ भोलि के हन्छ भन्ने कुरा बेकार हो। त्यतातिर दिमाग लानै पर्दैन।’
उनले जनवादी क्रान्ति जस्तो लामो अवधि नभएपनि तुलनात्मक रुपले छोटो अवधिमा समाजवादी क्रान्तिको यात्रा नेपालमा प्रारम्भ हुने विश्वास लिएको बताए।
उनले भने, ‘समाजवाद नेपाली विशेषताको समाजवाद कस्तो हुने भन्ने कुरामा अझै अन्तिम निष्कर्ष सम्म पुग्न वैचारिक मन्थन र बहसको बीचबाट जानुपर्ने छ। हामीले विचार अध्ययन, अनुसन्धान, चिन्तन मननको यो एउटा बाटो, हिँड्नु पर्ने छ तर मलाई के विश्वास छ भने छिटै नै जनवादी क्रान्ति जस्तो लामो अवधि होइन्, तुलनात्मक रुपले छोटो अवधिमा समाजवादी क्रान्तिको यात्रा नेपालमा प्रारम्भ हुनेछ। र,त्यो विजयी हुँदै अगाडि बढ्ने छ भन्ने विश्वास लिएको छु।’
देशको विविधताको अवस्था सबैलाई विचार गरेर नै नयाँ राष्ट्रिय एकताको परिकल्पना गरेको भन्दै उनले त्यसका लागि उत्पीडनमा परेका दलित, महिला र मुस्लिमहरुलाई विशेष अधिकारको व्यवस्था हुनुपर्ने मान्यताका साथ अघि बढ्ने बताए।
उनले भने, ‘देशको विविधताको अवस्था सबैलाई विचार गरेर नै यो देशको नयाँ राष्ट्रिय एकताको परिकल्पना भएको हो। नयाँ राष्ट्रिय एकताको लागि सबै उत्पीडित जातिहरुलाई अधिकार दिन तयार हुनुपर्छ भन्ने मान्यता हामीले अगाडि सारेको हो। त्यसमा पनि सबैभन्दा बढी सामन्ती राज्यबाट विभेदमा पारिएका दलित, महिला र मुस्लिमहरुलाई विशेष अधिकारको व्यवस्था हुनुपर्छ भन्ने मान्यता पनि हामीले अघि सारेको हो। ती मान्यताहरुलाई तीव्र रुपमा अगाडि बढाउन नसकेको अवस्था थियो तर, अब त्यसलाई अगाडि बढाउने अवस्था आएको छ।’
सरकार, सदन र सडकको तर्फबाट फेरि नयाँ उचाइबाट आन्दोलन अगाडि बढाउन आवश्यक रहेको भन्दै उनले मोर्चाहरुलाई बलियो बनाएर अभियानको रुपमा अगाडि लाने क्रममा रहेको पनि भनाइ राखे।