भारत टी–२० विश्वकपको सेमिफाइनलमा
असार ११, काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले सेमिफाइनलको यात्रा तय गरेको छ। सोमबार राति भएको सुपर ८ को तेस्रो खेलमा अस्ट्रेलिया विरुद्ध जित निकालेपछि भारत सेमिफाइनलमा प्रवेश गरेको हो।
टी–२० विश्वकपको तेस्रो सुपर ८ खेलमा भारतले अष्ट्रेलियालाई २४ रनले पराजित गर्न सफल भयो। पहिला ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ५ विकेट गुमाएर २०५ रन बनाएको थियो । जवाफमा अस्ट्रेलियाले पुरै ओभर खेलेर ७ विकेटको क्षतिमा १८१ रन बनायो।
अब भारतले टोलीले सेमिफाइनलमा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। टस जितेर पहिले ब्याटिङ गरेको भारतलाई दोस्रो ओभरमै पहिलो झट्का लागेको थियो। विराट कोहलीले खाता पनि खोल्न सकेनन्। कप्तान रोहित शर्माले एक छेउबाट आक्रामक शैलीमा दोस्रो विकेटका लागि ऋषभ पन्तसँग ३८ बलमा ८७ रनको साझेदारी गर्दै स्कोरलाई ९० भन्दा माथि पुर्याएका थिए।
दोस्रो विकेटको रुपमा ऋषभ पन्त १४ बलमा १५ रन बनाएर आउट भए। उनले एक छक्का र एक चौका प्रहार गरे। तेस्रो विकेटको रुपमा कप्तान शर्माले ९२ रन बनाएर आउट भए। उनले १९ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए। रोहित शतक तर्फ लागे पनि १२ औं ओभरमा मिचेल स्टार्कको शिकार बने र ४१ बलमा ९२ रनको पारि खेले । उनको इनिङ्समा सात चौका र आठ छक्का सामेल थिए।
यस्तै, सूर्य कुमार यादवले १६ बलमा ३१ रन बनाए । उनले २ छक्का र ३ चौका प्रहार गरे। १५औं ओभरमा १५९ रनको स्कोरमा उनको विकेट खसेको थियो। शिवम दुबे पनि २२ बलमा २८ रन बनाएर आउट भए । हार्दिक पाण्ड्याले १७ बलमा नटआउट २७ रन बनाए। योसँगै रविन्द्र जडेजाको ब्याटिङमा ९ रनको नटआउट पारि खेलेपछि भारतीय टोलीले २०० भन्दा बढी रन बनाउन सफल भयो। अष्ट्रेलियाका लागि मिचेल स्टार्क र मार्कस स्टोइनिसले २–२ विकेट लिए।
लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाको सुरुवात पनि खराब रह्यो र डेभिड वार्नर पहिलो ओभरमा ६ रन बनाएर आउट भए। ट्राभिस हेड र मिचेल मार्सलेबीच ८१ रनको साझेदारी भयो। जसलाई कुलदीप यादवले तोडेका थिए र मार्स २८ बलमा ३७ रन बनाएर आउट भए। ग्लेन म्याक्सवेलले छिटो रन बनाउने प्रयास गरे तर १९ रन बनाएर पभेलियन फर्किए। मार्कस स्टोइनिसले मात्र २ रन बनाउन सके। तर, ट्राभिस हेडले भारतीय बलरमाथि हावी भएर खेलेका थिए। उनले २४ बलमा आफ्नो अर्धशतक पूरा गरे।
१७ औं ओभरमा जसप्रित बुमराहको स्लो बलमा हेडलाई आउट गराए। हेडले ४३ बलमा ९ चौका र चार छक्का सहित ७६ रनको पारि खेले। टिम डेभिड पनि १५ रन बनाएर आउट भए। यस्तै, प्याट कमिन्स ११ र मिचेल स्टार्क ४ रन बनाएर अविजित रहे पनि टोलीलाई जित दिलाउन भने सकेनन्। भारतका लागि अर्शदीप सिंहले सर्वाधिक तीन तथा कुलदीप यादवले दुई विकेट लिए।
सुपर ८ को समूह १ बाट भारतले ३ खेलमा ३ जित हात पार्दै सेमिफाइनलमा स्थान पक्का गरेपनि अस्ट्रेलिया स्तब्ध भएको छ। तर, अफगानिस्तान र बंगलादेशबीचको खेलको नतिजाले अस्ट्रेलियाको सेमिफाइनल सम्भावनालाई तय गर्ने छ।