भातृ संगठनहरुलाई चुस्त बनाउन आवश्यक छ : उपसभापति गुरुङ


असार ११, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीका भातृ संघ संगठनहरुमा सांगठनिक चुस्तता भएमात्रै समयमै महाधिवेशन गर्न सकिने बताएका छन्।

मंगलबार नेपाल लोकतान्त्रवादी आदिवासी जनजाति महासंघको पहिलो महाधिवेशनमा उनले भद्रगोल र भद्दा खालका संगठनहरु निर्माण गर्दै जाने हो भने समयमै महाधिवेशन सम्पन्न गर्न गाह्रो हुने बताए।

उनले भने, ‘संगठनहरुमा सांगठनिक चुस्तता आवश्यक छ। ५४ सदस्यीय कार्यसमिति भएकै कारण आज आदिवासी जनजाति महासंघको महाधिवेशन समयमै सम्पन्न भइरहेको छ। तर, भद्रगोल र भद्दा खालको संगठनहरु निर्माण गर्न थाल्यौं भने त्यसले चुस्तता पाउदैन र महाधिवेशन समयमै सम्पन्न गर्न कठिन हुन्छ। त्यसतर्फ हाम्रो गम्भिर ध्यानाकर्षण हुनु आवश्यक छ।’

लाभको पदहरुमा बढी कर्म र समयमै जिम्मेवारी गर्नेलाई अघि बढाउन कञ्जुस्याइँ गर्न नहुने उनको भनाइ थियो। त्यस्तै, उपसभापति गुरुङले पार्टी नेतृत्व जमेको पोखरिको पानी जस्तो नभई बगिरहने खोलाजस्तो हुनुपर्ने बताए।

‘नेतृत्व भनेको जमेको पोखरीको पानी होइन। त्यो पोखरीको पानी जमिरहन्छ र त्यहाँ लेउ र झेउ मात्र उम्रन्छ। नेतृत्व भनेको त बगिरने खोलाजस्तो हुनुपर्ने बताए। पानी जस्तो होस्, जहाँ लेउझेउ उम्रदैन गन्तव्यमा पुग्दछ र समुन्द्रमा पुग्दछ,’उनको भनाइ थियो।

नेतृत्वमा सदाचारिता, मजबुत र सशक्त विचारको आवश्यकता रहेको समेत गुरुङले बताए। उनले भने, ‘हाम्रो विचार कमजोर हुँदा हाम्रो धरातल पनि कमजोर हुन्छ र हाम्रो संगठन पनि कमजोर हुन्छ। त्यसैले मजबुत र सशक्त विचारको आवश्यकता छ। त्यसपछि हरेक नेताको व्यवहारमा सदाचारिता हुन आवश्यक छ। हामी वीपीको अनुयायी हो भने गर्व गर्छौं। यो कुरा विर्सिनु हुदैन।’

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?